मधेश

एमाले मधेश प्रदेश अध्यक्षमा मण्डलको नाममा सर्वसम्मतिको प्रयास

सुभाष कर्ण |
असोज २५, २०८० बिहीबार १९:४९ बजे

जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको नयाँ नेतृत्वका लागि चन्देश्वर मण्डलको नाममा सहमतिको प्रयास भइरहेको छ । हुन त अधिवेशन स्थल बाहिर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । तर, बन्द सत्र हलमा चन्देश्वर मण्डलको नाममा बिहानैदेखि प्रयास भइरहेको हाे ।

मण्डल लीलानाथ श्रेष्ठका उम्मेदवार हुन् । एमाले सचिव रघुवीर महासेठ र प्रदेश संसदीय दलका नेता सरोजकुमार पक्षबीच सहमति मिल्न नसक्दा पार्टीका अर्का सचिव एवं मधेश इन्चार्ज योगेश भट्टराईको प्रयासमा श्रेष्ठ पक्षधारका मण्डलको नाममा सहमति जुटाइएको बुझिएको हो ।


रघुवीर महासेठ पक्षबाट राजकिशोर यादव र विचारी यादव, सरोजकुमार यादव पक्षबाट राजनारायण साह र लक्ष्मीनारायण यादव अध्यक्ष पदका आकांक्षी थिए । दुवै पक्षबीच सहमतिको प्रयास बन्न नसकेपछि श्रेष्ठका उम्मेदवार मण्डलले बाजी मार्न लागेको हो ।

स्रोतका अनुसार अध्यक्षमा सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्षमा पर्साका विचारी यादव, सचिवमा शिवशंकर साह हिरा (धनुषा), उप सचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) मा सहमति करिब जुटिसकेको छ । तर, महासेठले आधिकारिक रूपमा समर्थन नजनाएकाले सर्वसम्मतको अधिकारिकता सार्वजनिक गरिएको छैन । 

यता निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेका छन् । सो तालिका अनुसार बिहीबार साँझ साढे ५ बजे मतदाता नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीमा दाबी विरोधपछि बिहीबार साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यस्तै बिहीबार नै बेलुका ९ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता र दाबी विरोधपछि उम्मेदवारको अन्तिम नामावली २६ गते विहान १० बजे प्रकाशन गर्ने कार्यतालिका छ । २६ गते शुक्रबार  ११ बजेदेखि मतदान गर्ने समय तोकिएको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि बिहीबार विहानदेखि नेताहरूले सर्वसम्मत कार्यसमिति चयनका लागि प्रयास गरिरहेका छन् । एमाले स्रोतका अनुसार अध्यक्षसहित ५ जना पदाधिकारी सर्वसम्मत चयन गर्ने सम्भावना अन्तिम चरणमा पुगेको छ । तर, केही आकांक्षीले नमानेकाले अझै छलफल भइरहेको एक नेताले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x