मधेश

तलब नदिएको भन्दै हुलाक कार्यालय धनुषाका कर्मचारी आन्दाेलित

तलब भुक्तानी नभएसम्म कार्यालयको ताला नखोल्ने चेतावनी

सुभाष कर्ण |
असोज २९, २०८० सोमबार १८:१२ बजे

जनकपुरधाम- जनकपुरधामस्थित हुलाक कार्यालय धनुषाका कर्मचारीहरूले तलब भत्ता भुक्तानीको माग गर्दै कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । सोमबार कर्मचारीहरूले दसैँ, तिहारको समयमा पनि गत तीन महिनाको तलब नदिएको भन्दै कामकाज ठप्प गर्दै कार्यालयमा ताला लगाएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले कार्यालय परिसरमा धर्ना समेत दिएका छन् । ताला

केही दिनअघि अर्थमन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई दसैँ तिहार जस्ता चाडपर्वमा कुनै पनि कर्मचारीको तलब नरोक्नु भनेर पत्राचार नै गरेको थियो । तर, हुलाक कार्यालय धनुषामा रकम भए पनि मनपर्दी गर्दै कार्यालय प्रमुखले तीन महिनादेखि तलब खुवाएका छैनन् ।


उनीहरूले कार्यालय प्रमुख जयचन्द्र साहले मनमानी गर्दै आफ्नो सेवा सुविधामा लागेर दसैँ जस्ता पर्वमा पनि कर्मचारीहरूको तलब नदिएको आरोप लगाएका छन् । हुलाक कार्यालय धनुषाका जिन्सी शाखाका कर्मचारी जितेन्द्र लाल कर्णले कार्यालय प्रमुख साहले कार्यालयमा हाजिर भएदेखि तीन महिनाको तलब नदिएको गुनासाे गरेका छन् ।

उनका अनुसार भदौ महिनादेखि दसैँ भत्ता समेत गरी तीन महिनाको कर्मचारीहरूको तलब भत्ता बक्यौता रहेको छ । जिन्सी शाखाका कर्णले थप्दै भने. 'कार्यालय प्रमुख साहले कार्यालयबाट सामान बुझेर सामान बुझेका भनी हस्ताक्षर नगरी आलटाल गर्दै आएका छन् । कहिले फ्रिज त कहिले एसी आफ्नो क्वार्टरमा लगाई दिन जिन्सी शाखामा दबाब दिँदै आएका छन् ।'

अर्का कर्मचारी मनिष कर्णले दसैँ, तिहार जस्ता चाडपर्वमा आफूहरूको तलब नदिइएपछि निकै समस्यामा परेको दुखेसो पाेख्छन् । कार्यालय प्रमुख साहले कर्मचारीहरूसँग १०/१० हजार रुपैयाँ कमिसन माग्नुका साथै नदिएमा स्थायी कर्मचारी निलम्बन गरिदिने, करारका कर्मचारीलाई जागिरबाट हटाइ दिने लगायतका धाकधम्की पनि दिँदै आएको आरोप समेत उनले लगाए ।

यता कार्यालय प्रमुख साहले आफूले कसैसँग तलब वापत कमिसन नमागेको बताएका छन् । उनले अहिलेसम्म तलब भुक्तानी गर्न नसक्नुको प्रमुख कारण लेखापाल सरुवा भएपछि लामो समयसम्म कार्यालयमा लेखापाल नआएर र केही दिनअघि कोलनिकाबाट विकू मण्डल आए पनि उनले समय नदिएर बताए । तलब भत्ता त कोलनिका कार्यालयबाट पनि लेखापालले खुवाउन सक्छ नि, दसैँ जस्ता चाडपर्वमा तलब रोक्नु कतिको जायज रहेको भन्ने जिज्ञासामा कार्यालय प्रमुख साहले पन्छिँदै भने, 'कर्मचारीको तलब मात्रै एउटा समस्या हो, र पत्रपत्रिकाहरूको पनि भुक्तानी बाँकी छ सबैलाई व्यवस्थापन गर्दा समस्या भएको हो ।'

आन्दोलनरत कर्मचारीहरूले तलब भुक्तानी नभएसम्म कार्यालयको ताला नखोल्ने चेतावनी दिएका छन् । हुलाक कार्यालय धनुषामा स्थायी, करार र इकाई कार्यालयसहित करिब तीन सय कर्मचारीको तलब बाँकी रहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x