मधेश

सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्ने

सुभाष कर्ण |
कात्तिक १, २०८० बुधबार १९:२६ बजे

जनकपुरधाम- सशस्त्र प्रहरी बलले मधेशमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल भारत सीमामा पछिल्लो समय आपराधिक कृयाकलाप बढ्दै जान थालेपछि सशस्त्र प्रहरी बलले मधेसका ८ वटै जिल्ला भारतको सीमासँग जोडिएकाले शान्ति सुरक्षा कायम गर्न र सीमावासीको पीडालाई सम्बोधन गर्ने अभिप्रायले सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी सो कार्यक्रम कार्यान्वयनका लागि जनप्रतिनिधिहरूको साथ खोज्दै भारतको सीमासँग जोडिएको वडाध्यक्षहरूसँग सशस्त्र प्रहरी बलले छलफल समेत गरिएको जानकारी दिएका छन् ।


कार्यक्रममा बोल्दै सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दाहालले सीमावासीले भोग्दै आएको समस्या समाधानका लागि पहल गर्न सशस्त्र प्रहरी बल तयार रहेको बताए । उनले यसका लागि सीमावासी तथा जनप्रतिनिधिहरूको सहयोग अपरिहार्य रहेको बताए । 

सशस्त्र प्रहरीका छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले मधेश प्रदेशका जनताहरूको सीमावर्ती भारतीय क्षेत्रका जनताहरूसँगको सांस्कृतिक सम्बन्धको विशिष्टतालाई ध्यानमा राखेर सीमाको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको बताए ।

सो कार्यक्रममा सीमा क्षेत्रको समस्या लगायतका अन्य विषयमा केन्द्रित रहेर विभिन्न पालिकाका वडाध्यक्षहरूले सशस्त्र प्रहरी बलले छलफल गरेका हुन् । मधेश प्रदेशको ४६१.८ किलोमिटर सीमा भारतीय सीमासँग जोडिएकोमा १ सय ४३ वडाहरू भारतीय सीमासँग जोडिएका छन् । 

नेपाल भारतको बीचमा विशिष्ट सांस्कृतिक सम्बन्ध रहनुका साथै दुवै देशका नागरिक नागरिकका बीचमा पारिवारिक सम्बन्ध रहेकाले यस प्रदेशको विशिष्टता अनुसार नै सीमाको वैज्ञानिक र व्यवहारिक व्यवस्थापन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल र वडाध्यक्ष मध्येका सबैभन्दा ज्येष्ठ वडाध्यक्षका रूपमा कार्यक्रममा सहभागी भएका सप्तरी जिल्लाका तिलाठी कोईलाडी गाउँपालिका वडा नंं १ का वडाध्यक्ष दिनेश्वर मिश्रले अन्तरक्रियाको संयुक्त रूपमा उद्घाटन गरेका थिए । 

सीमा पूर्ण रूपमा खुल्ला भएकाले सशस्त्र प्रहरीलाई सीमाको व्यवस्थापन, अपराध नियन्त्रण, तस्करी, मानव बेचबिखन, लागूऔषधको कारोबार नियन्त्रण जस्ता विषयहरू चुनौतीपूर्ण बनिरहेको वेलामा सशस्त्र प्रहरीले आयोजना गरेको कार्यक्रम निक्कै उपयोगी साबित हुने वडाध्यक्ष मिश्रले बताए ।

सीमामा रहेका वडाबाट निर्वाचित भएका वडाध्यक्षहरूले सीमा क्षेत्रमा हुने गरेको लागूऔषधको कारोबार, तस्करी, शान्तिसुरक्षा, विकास निर्माणको कार्यमा व्यवधान, सीमाना अतिक्रमण, घरेलु कामका लागि ल्याउने दैनिक उपभोग्यका सामग्रीमा रोक, सीमा नाकामा आवत जावत गर्दा हुने गरेको समस्या, प्राकृतिक सम्पदाको उत्खननसहितका विषयमा ध्यानाकर्षण गराएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x