मधेश

प्रिन्सिपल सर्राफको हत्या आरोपमा ६ जना पक्राउ

इकागज |
कात्तिक १४, २०८० मंगलबार १४:४८ बजे

बारा  - गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई पक्राउ गरेको छ  । 

सो घटनामा अन्य थप दुई जनाको पनि संलग्नता हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।  


अहिले ६ जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्ष्मरुपमा अनुन्धान भइरहेको उनले बताए । 

प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले  तीन वटा गोली प्रहार गरी हत्या गरेको थियो ।  

 मंगलबार हिन्दू परम्पराअनुसार उनको दाहसंस्कार गरिएको छ । पसहा खोलमा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । 

मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन्  । उनलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उनको निवासमा पुगेका थिए । 

प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि  गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेका एकले बताएको प्रहरीले जानकारी दिएको छ ।  

 रासस


Author

थप समाचार
x