मधेश

प्लानले मधेशमा एक घण्टे मन्त्री बनाउँदै !

सुभाष कर्ण |
कात्तिक १७, २०८० शुक्रबार २०:९ बजे

जनकपुरधाम- बालिका तथा किशोरीहरूको सशक्तीकरण तथा मनोबल बढाउन मधेश प्रदेशमा एक घण्टे मन्त्री बनाउने होड चलेको छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था प्लान इन्टरनेशनलको ‘गर्ल्स टेकओभर’ कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा मधेश प्रदेशमा बालिका तथा किशोरीहरूलाई एक घण्टे मन्त्री बनाउने होड नै चलेको हाे । 

शुक्रबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले धनुषाकी १७ वर्षीया किशोरी विभाकुमारी यादवलाई पद हस्तान्तरण गर्दै एक घण्टे मन्त्री बनाएका छन् । प्लान इन्टरनेशनको विश्वव्यापी अभियान अन्तर्गत मन्त्री समिमले मन्त्रालयमा एक कार्यक्रममा कक्षा १२ मा अध्ययनरत जिल्लाको विदेह नगरपालिका गिद्धा बेलापट्टीकी छात्रा विभालाई एक घण्टे मन्त्री बनाए ।


मधेश प्रदेशको गृह, सञ्चार तथा कानुनमन्त्रीको पदभार ग्रहण गरेकी छात्रा विभाले मधेश प्रदेशमा हुने गरेको बालविवाह, महिला, बालिका हिंसा तथा लागू पदार्थको दुर्व्यसन रोक्नका लागि प्रभावकारी भूमिका खेल्न सरोकारवालाको ध्यानाकर्षण गराइन् । 

यस्तै बिहीबार धनुषाको कमला नगरपालिकामा रहेको सामुदायिक विद्यालयको कक्षा ७ मा अध्ययनरत वर्ष १४ की बालिका सरिता यादवलाई एक घण्टे मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाइयो ।

मधेश प्रदेशमा बुधबार १८ वर्षीया रजीना खातुनलाई शिक्षा तथा समाज कल्याण मन्त्री बनाएर एक घण्टे मन्त्री बनाउने सुरुवात गरियो । धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनलाई बुधबार मन्त्री महेश यादवले आफ्नाे कुर्सी हस्तान्तरण गरी एक घण्टे मन्त्री बनाउने अभियान सुरु गरियो । 

यसअघि कात्तिक १ गतेका दिन प्लानद्वारा नरहरीनाथ ३ कालिकोटकी १७ वर्षीया मोनिकाकुमारी बुढा एक दिनका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेकी थिइन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले एक दिनका लागि मोनिकालाई आफ्नो पदभार हस्तान्तरण गरेका थिए । 

यसअघि २०७७ माघ ११ मा बिना कुनै एनजीओको कार्यक्रम अन्तर्गत भारतको उत्तराखण्डमा एक १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइएको थियो । भारतको उत्तराखण्डमा सृष्टि गोस्वामीलाई सरकारले नै एक दिनका लागि विधिवत् रूपमा मुख्यमन्त्री बनाएको थियो ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि कार्यकारी अधिकारसहित एक दिनको मुख्यमन्त्री बन्नुका साथै विधानसभा बैठक समेत उपस्थित भएकी थिइन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले सृष्टिलाई मुख्यमन्त्री मात्र नबनाई कार्यकारी अधिकार समेत दिएका थिए । श्रृष्टि यसअघि बाल विधान सभा अन्तर्गत समेत मुख्यमन्त्री बनिसकेकी थिइन् । श्रृष्टिलाई आईएनजीओको कार्यक्रम अन्तर्गत नभई बाल अधिकार संरक्षणद्वारा महिला तथा बालिकाको सशक्तीकरणका लागि बनाइएको थियो । 

प्लान इन्टरेशनलद्वारा यसअघि फिनल्याण्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री समेत बनाइ सकिएको छ । २०७७ असोज २२ मा प्रधानमन्त्री सन्ना मरिनद्वारा १६ वर्षीया किशोरी आभा मुर्तोलाई एक दिने प्रधानमन्त्री बनाइएका थियाे । उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार नभए पनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरूसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको थियो ।

प्लानले अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर सन् २०१७ देखि विश्वका ७५ मुलुकमा विशिष्ट व्यक्तिहरूको पद बालिका तथा किशोरीहरूलाई हस्तान्तरण गराएर समान शक्ति, समान स्वतन्त्रता तथा समान प्रतिनिधित्वको सन्देश दिइरहेको प्लान इन्टरनेशन नेपालका क्षेत्रीय प्रबन्धक रविशंकर पण्डितले जानकारी दिएका छन् । 

यो अभियान सञ्चालन गरिरहेको प्लान इन्टरनेशनल नेपालका अञ्जु शाक्यले किशोरी सशक्तीकरणको एक नियमित अभियानअन्तर्गत यस्तो अभ्यास गरिएको जानकारी दिएकी छिन् । 'अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा अक्टोबर ११ देखि विभिन्न सरकारी निकाय, सङ्घसंस्था, मिडिया, दूतावास, शैक्षिक संस्थालगायतमा एक दिनका लागि प्रमुख व्यक्तिको कार्यभार किशोरीलाई हस्तान्तरण गर्ने अभियान चलिरहेको छ,' शाक्यले भनिन्, 'यो कार्य देशका विभिन्न सात जिल्लाका ५० जना किशोरीहरूले विभिन्न संस्थामा ५० पदको नेतृत्व लिइसकेका छन् ।'

प्लानले सन् २०२३ मा ५० भन्दा बढी विशिष्ट व्यक्तिहरूको पद नेपालमा टेकओभर गराउने कार्यक्रम रहेको बताउँदै सोही कार्यक्रम अन्तर्गत बालिका तथा किशोरीहरूलाई पद हस्तान्तरण गराउने अभियान चलाइरहेको कार्यक्रम अधिकृत काजल झाले जानकारी दिइन् ।

प्लान इन्टरनेशन नेपालका जनकपुरधामस्थित कार्यालयका क्षेत्रीय प्रबन्धक रविशंकर पण्डितले प्लानले विश्व व्यापी रूपमा ७५ देशमा समान शक्ति, समान स्वतन्त्रता तथा समान प्रतिनिधित्वको मान्यता अनुसार बालिका तथा किशोरीको मनोबल बढाउन पद हस्तान्तरण अभियान चलाइरहेको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x