मधेश

चार वर्षमा पनि सञ्चालनमा आएन खानेपानी ट्याङ्की

सुभाष कर्ण |
कात्तिक १७, २०८० शुक्रबार २०:४८ बजे

जनकपुरधाम- चार वर्ष बितिसक्दा पनि निर्माणाधीन पानी ट्याङ्की सञ्चालनमा नआउँदा धनुषाको मिथिलाबिहारी नगरपालिकाका एक हजार बढी घरधुरीले खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।​

मिथिलाबिहारी नगरपालिका ५ ललियास्थित निर्माणाधीन रहेको पानी ट्याङ्की सुचारु नहुँदा जाडोको मौसममा चापाकलमा पानी आए पनि सुक्खा मौसममा खानेपानीको समस्या स्थानीयवासी भोग्दै आएका छन् ।


वि.सं. २०७५ सालदेखि नै बन्दै आएको पानी ट्याङ्की बनेर सम्पन्न भए पनि मोटर सुचारु नगर्दा १ हजार बढी घरधुरीलाई पानीको समस्या भएको हो । ट्याङ्की निर्माणका लागि खानेपानी तथा सरसफाइ समिति ललियाले २०७६ सालदेखि नै अनवरत काम गर्दै आए पनि ट्याङ्की निर्माण गरे पनि मोटर अभावमा खानेपानी सञ्चालन हुन नसकेको जनाइएको छ ।

मधेश प्रदेशका तत्कालीन मन्त्री जीतेन्द्र सोनलको पालामै १ करोड बढीको लागतमा सो पानी ट्याङ्की निर्माण गरिएको थियो । पानी ट्याङ्की निर्माण गरेर प्रदेश सरकारले शो–पिसमा राखेको गुनासो स्थानीयवासीहरूको रहेको छ । स्थानीय विरेन्द्र साहले भने, 'पानी ट्याङ्की निर्माण गरे पनि मोटर नै जडान नगर्दा त्यसको कुनै औचित्य छैन । प्रदेश सरकारले ट्याङ्की जनताको समस्या समाधानका लागि नभइ शो पिसका लागि राखेको छ ।'

स्थानीयहरूले साइट ईन्जिनियर एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मधेश प्रदेशका प्रमुख सुरेन्द्र शर्माको व्यक्तिगत स्वार्थका कारण खानेपानी ट्याङ्की अहिलेसम्म सञ्चालनमा आउन नसकेको आरोप लगाएका छन् । स्थानीयको आरोपबारे प्रमुख शर्माले भने, 'स्थानीयको गुनासो जायज हो । तर, यो समस्या प्रदेश सरकारले किस्ता किस्तामा बजेट उपलब्ध गराएको कारण ढिला हुन गएको हो । तर, चालु आर्थिक वर्षमै ललियावासीलाई खानेपानी खुवाउनेछु ।' 

उनले भने, ‘ट्याङ्कीमा मोटर पनि जडान भइसकेको अब पाइप बिछाउने काम जारी रहेको छ छिट्टै नै खानेपानी ट्याङ्की सञ्चालनमा ल्याउने छौं ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x