मधेश

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको भीसी नियुक्ति प्रक्रिया थालियो

सुभाष कर्ण |
कात्तिक १८, २०८० शनिबार २०:३८ बजे

जनकपुरधाम- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति (भीसी) नियुक्ति गर्ने तयारी प्रदेश सरकारले थालेको छ । उपकुलपति डा.रामकेवल साहको निधनपछि प्रतिष्ठान भीसीविहीन रहेको छ । डा.साहको निधन भएको झण्डै ३ महिनापछि प्रदेश सरकारले नियुक्ति प्रक्रिया थालेको हो ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीसीका लागि विज्ञापन गरेको थियो । सो विज्ञापनको अवधि समाप्त भएपछि भिसी नियुक्ति प्रक्रिया थालिएको जनाइएको छ । 


स्वास्थ्य मन्त्रालयका अनुसार ९ जना चिकित्सकले भीसीका लागि आवेदन दिएका छन् । स्राेतका अनुसार आवेदन दिनेहरूमा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका सम्धी डा.विश्वनाथ यादव प्रतिष्ठानका रेक्टर डा.अंकुर साह, डा.रोहित यादव, डा.रमेश सिंह र डा.सुधिर सिंहलगायत रहेका छन् । 

डा.साहको निधनपछि भीसी नियुक्तिका लागि विज्ञापन भएदेखि नै आवेदन दिनेहरू ‘सेटिङ’ मा लागिसकेका थिए । भीसीको दौडमा रहेका डा.विश्वनाथ यादव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फरेन्सिक विभागका प्रमुख हुन् । डा.अंकुर साहलाई भीसी बनाउन निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा हालीमुहाली चलाउने केही व्यक्ति सक्रिय भएका छन् ।

मधेश प्रदेशमा हालसम्म भएका राजनीतिक नियुक्तिहरूमध्ये केही कामै नलाग्ने र केही लेनदेनकाे आधारमा भएको आरोप लाग्दै आएको छ । प्रतिष्ठानमा भीसीको अनुपस्थिति भएको झण्डै वर्ष दिन भइसक्यो । तर, लेनदेनको विषय नमिलेका कारण भीसी नियुक्ति लम्बिएको बुझिएको छ ।

मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.प्रमोद यादवले भीसीका लागि परेका आवेदनहरूलाई सूचीकृत गर्न समितिले चाँडै काम थाल्ने बताए । ‘सर्ट लिस्ट बनाएर त्यसको प्रक्रियालाई अगाडि बढाइने छ,’ सचिव डा.यादवले भने, 'भीसी नियुक्तिका लागि मन्त्रालयले नामहरू सिफारिस गर्ने छ ।'

भीसी नियुक्तिका लागि कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवको अन्तिम निर्णय हुने उनले बताए ।

भीसीको नियुक्ति बढीमा ४ वर्षका लागि हुने कानुनी व्यवस्था रहेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा प्रादेशिक अस्पताल राखिएको छ । अस्पताललाई प्रतिष्ठान अन्तर्गत राखिएकोमा कर्मचारीहरूले असन्तुष्टी व्यक्त गर्दै आइरहेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x