मधेश

परिवारले बुझे इजरायलमा मारिएका विद्यार्थी आनन्द साहको शव

सुभाष कर्ण |
कात्तिक १८, २०८० शनिबार २०:५४ बजे

जनकपुरधाम- इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव नेपाल ल्याएका मध्ये धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीका आनन्द साहको शव पनि आइपुगेको छ ।

नेपाली सेनाको टोलीले साहको शव विमानबाट सपही घरसम्म ल्याएका हुन् । साहको शव देखेपछि उनका परिवारसहित पूरै गाउँ शोक मग्न भएकाे छ । नेपाली सेनाबाट परिवारले शव बुझेपछि गाउँ नजिकै रहेकाे शमशानमा आजै दाहसंस्कार गरिएको छ । साहको शवलाई उनका काकाको छोरा बेचन साहले दागवत्ती दिएका छन् ।


जनकपुरधामस्थित एन्जल्स बोर्डिङ्ग स्कुलबाट एसईई उत्तीर्ण गरेका साहले पूर्ण छात्रवृत्तिमा बिएससी एग्रिकल्चर गरेका थिए । सुदूरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमै पोख्त बनाउनका लागि १० महिने प्रशिक्षणका लागि इजरायल पठाइएको थियो ।

तालिमका लागि पठाइएकोमा ५ लाख थप रकम माग गर्दै साहलाई सहभागी नगराएपछि उनी पढाई र जीविकोपार्जन खर्च जुटाउन त्यहाँ खेतमा कागती टिप्ने काम गर्न थालेको साहकाे परिवारले बताएकाे छ ।

हमासकाे आक्रमणमा मारिएका १० मध्ये आठ जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ भने अझै दुई जनाको शव आउन बाँकी रहेको छ । आक्रमणमा परी ज्यान गुमाएका थप दुई जना डोटी लामीखाल वडा नम्बर ८ का पदम थापा र सल्यान सारदा वडा नम्बर ३ का प्रवेश भण्डारी रहेका छन् ।

अहिलेसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल आइसकेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x