मधेश

एमालेबाट फुटेर नयाँ मधेश कम्युनिष्ट पार्टी गठन

सुभाष कर्ण |
कात्तिक १९, २०८० आइतबार १६:४१ बजे

जनकपुरधाम- नेकपा एमालेबाट फुटेर नेपाल मधेश कम्युनिष्ट पार्टी भन्ने नयाँ पार्टी गठन भएको छ । एमालेका पूर्व केन्द्रीय सदस्य प्रमोद यादवको अध्यक्षतामा ५१ सदस्यीय उक्त पार्टी गठन भएको हो ।

एमालेबाट फुटेर नयाँ पार्टी घोषणा भएको जानकारी आइतबार पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष यादवसहित पदाधिकारीहरूले दिएका छन् । पार्टीको वरिष्ठ उपाध्यक्षमा डा. लक्ष्मी ओली, उपाध्यक्षद्वयमा मातृका यादव र रामशरण यादव रहेका छन् भने पार्टीको महासचिवहरूमा दिवाकर शर्मा, शंखु जैसी र शंकर यादवलाई चयन गरिएको छ । यस्तै सचिवहरूमा गौतम ढुंगेल, कल्पना यादव र काजल खातुन रहेका छन् ।


नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका पार्टीले मधेशको समस्या समाधान नगरी शोषण गर्दै आएकाले नयाँ पार्टी गठन गर्नु परेको अध्यक्ष यादवले बताए । उनले भने, ‘हरेक पार्टीबाट नयाँ जनवादी पक्षधरहर, मार्क्‍सवाद लेनिनवाद विचारधारा भएकाहरू सबैलाई गोलबन्द गरेर लोकतान्त्रिक गणतन्त्रलाई हामीले उपयोग गर्ने र कमी कमजोरीको भण्डाफोरसहित नयाँ जनवादीको पक्षमा माहौल तयार गर्ने उद्देश्यले यो पार्टी गठन गरिएको हो ।’ 

अध्यक्ष यादवले यतिको सानो देशमा ७/७ वटा प्रदेश आर्थिक रूपले धान्न सक्ने अवस्था नरहेकाले देशमा मधेश, पहाड र हिमाल गरी मात्र ३ वटा प्रदेश तथा सांसद संख्या समेत हालको संख्याभन्दा आधा राख्नुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको समेत बताए ।

पत्रकार सम्मेलनमा उपस्थित पार्टीकाे वरिष्ठ उपाध्यक्ष डा. ओलीले कांग्रेस र एमाले लगायतका दलहरू मधेशीलाई शासकहरूले बाहिरका मान्छे सोचेर शोषण र दमन गर्ने उद्देश्यले राज्यका हरेक निकायबाट बाहिर राख्दै आएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताए ।

उनले भने, 'एमाले पार्टीले मधेशका सामान्तवादीहरूको चेहरा देखाएर शोषण दमन गर्ने गरी मधेशमा राजनीति गर्दै आएकाले त्यसको झण्डाफोर हामी गर्नेछौं । एमाले मात्र होइन कांग्रेस र माओवादीसहितका पार्टी समेतले सामान्तवाद नेताहरूलाई स्थापित गरेर मधेशमा शाषण गर्दै आएकाले अब त्यस्तो हुँदैन सबै शोषित उत्पीडितको पार्टी नेपाल मधेश कम्युनिष्ट पार्टी बनेकाले मधेशमा मधेशी जनताकै शासन हुनेछ ।'

सो कार्यक्रममा पार्टीका उपाध्यक्ष मातृका यादव र रामशरण यादव समेतले एमालेबाट अलग भई किन नयाँ पार्टी गर्नुपरेको धारणा राखेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x