मधेश

प्रथम वीरगञ्ज गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

इकागज |
कात्तिक २२, २०८० बुधबार ६:४४ बजे

सांकेतिक तस्बिर

वीरगञ्ज (पर्सा)- झापा एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रथम वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा मंगलबार सम्पन्न खेलमा झापा एफसीलाई दुई शून्य गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थानमा सुरक्षित गरेको हो । 

पहिलो हाफको ७ औँ मिनेटमा आर्मीका नीरजकुमार शाहले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । आर्मीले पाएको कर्नर किकमा झापाको पेनाल्टी एरिया नजिकैबाट हेड गर्दै शाहले बललाई गोलपोस्टको जाली चुमाउन सफल भए ।


पहिलो हाफ १–० मा सकिएको दोस्रो हाफको ६१ औँ मिनेटमा आर्मीकै फत्तेमान घलेले अर्को एक गोल थप्दै आफ्नो टिमको अग्रता दोब्बर पारे । घलेले डिबक्स एरिया बाहिरबाटै गरेको सुन्दर प्रहारले झापाको गोलपोस्टको जाली चुमेको थियो ।

मंगलबारको खेलमा ‘प्लेयर अफ दी म्याच’ भएका आर्मी क्लबका घलेले क्वेस्ट फार्मासियुटिकलको तर्फबाट रु १० हजार नगद पुरस्कार प्राप्त गरे । अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा सङ्कटा क्लब काठमाडौँको सामना गर्नेछ । 

प्रतियोगिताअन्तर्गत बुधबार आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज र नेपाल पुलिस क्लबबीच पहिलो सेमिफाइनल भिडन्त हुनेछ । मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतियोगितामा आठ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष सुविन बस्नेतले जानकारी दिए । 

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद रु ११ लाख ११ हजार एक सय ११ र उपविजेता टिमलाई नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने अध्यक्ष बस्नेतले बताए । 

त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद रु १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिने उनको भनाइ छ ।

प्रतियोगितामा दर्शकका लागि प्रवेश रु एक सय प्रवेश शुल्क पनि राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष सागर राणाले जानकारी दिए । सेमिफाइनलपछिको खेलमा प्रवेश शुल्क रु दुई सय गरिने उनले बताए ।

करिब १० हजार दर्शक अटाउने क्षमताको आदर्शनगर रङ्गशालामा सो प्रतियोगिताका लागि तीन हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिट पनि निर्माण गरिएको छ । रासस


Author

थप समाचार
x