मधेश

मान्छे फरक, नागरिकता नम्बर एउटै

इकागज |
मंसिर २, २०८० शनिबार ११:५८ बजे

महोत्तरी- नागरिकतामा मान्छेहरूको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुई वटामा नागरिकता नम्बर नै मिलेको घटना बाहिरिएको छ ।

महोत्तरीस्थित बर्दिवास-२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक-फरक दुई जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाइएको हो ।


संयोगले नाम र बुवाको नाम मिले पनि उनीहरू फरक-फरक ब्यक्ति हुन् । २०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिवासले बर्दिवास-८ बस्ने दलबहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा जारी गरेको बर्दिवास-२ का दलबहादुर भुजेलको नम्बर एउटै रहेको खुलेको हो ।

अचम्म त कहाँनिर छ भने उनीहरूको नागरिकता नम्बर ०४९७०२१५ मात्र मिलेको छैन जन्ममिति, बुवाको नामसमेत मिलेको छ । तर, दुवै भुजेलहरूको नागरिकता जारी भने फरक-फरक मितिमा भएको देखिएको छ ।

अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास-२ बस्ने भुजेलको नागरिकता एक दिन अगाडि अर्थात २०४४ साल फाल्गुन ५ गते जारी भएको देखिएको छ ।

बर्दिवास-२ को वडा कार्यालयले पूर्ण भूमिहीनको सूची बनाएर मालपोत कार्यालय पठाउँदा मालपोतमा दलबहादुर भुजेलको नाममा १० धुर जग्गा देखिएपछि खोजीको बिषय बनेको थियो । पुस्तौंदेखि जग्गा नै नभएका बर्दिवास-२ का दलबहादुर भुजेलको नाममा कसरी १० धुर जग्गा रहयो ? भन्ने बिषयमा स्थानियहरू आफैले खोजी गरेका थिए । यो विषयमा बुझ्न जनप्रतिनिधि एकबहादुर भुजेल आफै खटिए । नाताले मामा पर्ने पुर्ण भूमिहीन रहेका एकबहादुरले मामाको नाममा १० धुर जग्गा रहेको मालपोत कार्यालयले प्रमाण पठाएपछि अचम्ममा परेका थिए ।

सुरुमा उनी प्रशासन कार्यालय भन्दा पनि भुजेल बंशमा दलबहादुर भुजेल नाम भएका व्यक्तिहरूको खोजीमा लागे । खोजीकै क्रममा हात्तिलेट बस्ने दलबहादुर भुजेलसगँ मामाको नागरिकताको सवै मिलेपछि अहिले एकबहादुरले घरमा नै पुगेर सो नागरिकता आफ्नो साथमा ल्याएका छ्न् ।

तर एकबहादुरका मामा पनि हात्तिलेटबाट नै बसाई सरेर बर्दिवास-२ मा आएका थिए । तत्कालिन समयमा नागरिकता जारी गर्दा दुवै भुजेलहरूको ठेगाना पनि हात्तिलेट नै थियो । जारी मितिबाहेक नागरिकतामा सबै मिलेपछि पुर्ण भूमिहीन भनिएका मामालाई नगरपालिकाले वितरण गर्ने भनिएको जग्गामा समेत अफ्ठ्यारो स्थिति सिर्जना भएको छ ।

अझ हात्तिलेट बस्ने दलबहादुर भुजेलले त मुक्तिनाथ विकास बैंकबाट कर्जासमेत लिएको बुझिएको छ। एउटै नागरिकता लिएर दुई फरक-फरक ब्यक्तिहरूले अहिलेसम्म गरेका सरकारी कामहरूमा समेत प्रश्न चिन्ह खडा भएको छ ।

नागरिकतामा दुई व्यक्तिहरूको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने बिषयमा आफुलाई पनि अचम्म लागेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताए ।

'दुवै नागरिकता २०४४ सालमा टोलीबाट बनाएको देखिएको छ' प्रमुख जिल्ला अधिकारी गेलालले भने 'हामी उक्त त्रुटिको बिषयमा खोजी गर्नेछौँ ।' दुवै भुजेलको नागरिकता तत्कालिन टोली प्रमुख बालचन्द्र खनालले जारी गरेको देखिएको छ ।

यो दुवै नागरिकताको विषय नटुंगेसम्म पुर्ण भूमिहीन भनिएका भुजेलले जग्गासमेत नपाउने भएका छन् । 'कानुनीरुपमा उनको नाममा जग्गा देखिएपछि वडाले पनि उनको हितमा केही गर्न सक्दैन,' वडा कार्यालयका कम्प्युटर अपरेटर विनोद पौडेलले भने, 'हामी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई चिठी पनि पठाउँदै छौँ ।'


Author

थप समाचार
x