मधेश

अमेरिकाबाट आएको पार्सलमा गाँजा, हुलाक कार्यालयबाट तीन जना समातिए

इकागज |
पुस १८, २०८० बुधबार ११:१६ बजे

सांकेतिक तस्बिर

बारा- विदेशबाट पार्सल गरी पठाइ्एको लागूऔषध गाँजासहित बारामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट आएको पार्सलबाट लागूऔषध डिलेभरी हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१ सिसबावारी बस्ने वर्ष २२ का नैमोदिन मियाँ, सोही ठाउँ बस्ने वर्ष २७ का जितेन्द्र साह सोनार र वर्ष २२ का कृष्णा सराफलाई पाँच प्याकेट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।


पार्सलको गाँजा बुझेर लैजाँदै गरेको अवस्थामा उनीहरूलाई जिल्ला हुलाक कार्यालय बारा परिसरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार पपक्रोन मिक्स ट्रियो लेखिएको रातो रंगको टिनको डब्बाभित्र ३ प्याकेट, वर्ल्डफेशन ओट्स लेखिएको डब्बामा १ र क्वीक वट्स लेखिएको अर्को डब्बाभित्र १ प्याकेट गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो ।

गाँजासहित नियन्त्रणमा लिइएका उनीहरूविरुद्ध लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट हिजो पाँच दिनको म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।


Author

थप समाचार
x