मधेश

सर्लाहीमा कर्फ्यु हट्‌यो, निषेधाज्ञा जारी

इकागज |
पुस २१, २०८० शनिबार ९:२७ बजे

सर्लाही- सर्लाहीको​ बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोध प्रदर्शनमा परिणत हुँदा बरहथवा-६ का ३० वर्षीय जयशङ्कर साहको मृत्युपछि लगाइएको कर्फ्यु आज बिहानबाट हटाइएको छ ।

झडपमा एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला तोकेर कर्फ्यु जारी गरेका थिए । आज बिहानबाट कर्फ्यु हटाएर निषेधाज्ञा भने भोलिसम्मका लागि जारी गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार सूचना जारी गर्दै सम्भावित जोखिम नटरेकाले आज बिहान ८ बजेदेखि भोलि बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोति/चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

शुक्रबार प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । 

बरहथवा नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको थियो । 

बरहथवा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गरी ५० बेडको अस्पतालमा रूपान्तरण गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । 

अहिले सोही निर्णयबाट नगरप्रमुख कटुवालसहित बहुमत सदस्य पछि हटेका कारण नेपाली कांग्रेसलगायत दलका जनप्रतिनिधि  निर्णय कार्यान्वयन हुनुपर्ने अडान नछाडेपछि आन्दोलन चर्किएको हो ।


Author

थप समाचार
x