मधेश

रौतहटमा ओभरटेक गर्दा बस दुर्घटना एकको मृत्यु, ८ घाइते

इकागज |
असार १५, २०८१ शनिबार १२:५० बजे

रौतहट- ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै अन्य ८ यात्रु घाइते भएका छन् ।

गौरबाट भैरहवातर्फ गइरहेका ना.७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा शनिबार बिहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका-३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ वर्षीया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताएका छन् ।


दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ । एक जना यात्रु २६ वर्षीया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताएकी छिन्।

अन्य सात जना घाइतेहरुको शिवनगर र गरुडामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

एक जना प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्रगतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन् ।


Author

थप समाचार
x