मधेश

मधेश प्रदेशमा बाल श्रमिकको संख्या एक लाख ७२ हजार

इकागज |
असार २०, २०८१ बिहीबार २१:२३ बजे

सांकेतिक तस्बिर

जनकपुर- मधेश प्रदेशका अधिकांश जिल्लामा विद्यालय पहुँचभन्दा बाहिर रहेका पाँचदेखि १७ वर्ष उमेर समूहका बाल श्रमिकको सङ्ख्या एक लाख ७२ हजार रहेको पाइएको छ ।

जनकपुरधाममा आसमान नेपाल नामक संस्थाले पत्रकार अन्तरक्रिया आयोजना गरी बाल श्रमिकको तथ्याङ्क सार्वजनिक गरेको हो । आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले मधेश प्रदेशमा विद्यालय बाहिर भएका २१ प्रतिशत बालबालिकालाई विद्यालय पठाउन सकेमा बाल श्रमिकको सङ्ख्या कम गर्न सकिने बताए ।


प्रदेशका बाल श्रमिकहरू मध्ये शहरी क्षेत्रमा मात्र १२ दशमलव चार प्रतिशत रहेका छन् । ग्रामीण क्षेत्रमा बाल श्रमिकको सङ्ख्या नौ दशमलव आठ प्रतिशत रहेको आसमानका परियोजना संयोजक दिपेन्द्र तिवारीले जानकारी दिए । गरिबी तथा अशिक्षाका कारण बाल श्रमिक मध्ये तीन दशमलव चार प्रतिशत अर्थात् ५० हजार नौ सय ३२ जना बाल श्रमिक जोखिमपूर्ण काममा संलग्न रहेको उनले बताए ।

मधेश प्रदेशमा विद्यालय जाने उमेर समूहका बालबालिकाको सङ्ख्या १४ लाख ९८ हजार छन् । बालश्रममा लागेकालाई विद्यालय पठाउन चुनौतीपूर्ण रहेको आसमानका सुशासन सल्लाहकार गुरु सुवेदीले जानकारी दिए ।

उनले बालश्रम कम गर्न बालमैत्री स्थानीय शासन आवश्यक भएकाले योजनासहित बालबालिकाको क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताए । आसमानका मधेश प्रदेश संयोजक खिलानाथ निरौलाले जोखिमपूर्ण श्रमसहित अन्य श्रममा लागेका बालबालिकालाई विद्यालय पठाउन जरुरी रहेको बताए । रासस


Author

थप समाचार
x