मधेश

मधेश प्रदेशसभा बैठक स्थगन

इकागज |
असार २१, २०८१ शुक्रबार १८:४८ बजे

जनकपुर- बजेट पुनःलेखनको माग गर्दै मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही बेरमै स्थगन भएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल हुने तय भएको थियो । बिहान ११ बजेका लागि बोलाएको उक्त बैठक ढिलो गरी सुरु भएको थियो । 


बैठक सुरु हुने बित्तिकै लोकतान्त्रिक समाजवादी पार्टीकी नेत्री रानी शर्मा तिवारीले यही असार १६ गते मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको र सो विषयमा सरकारको धारणा नआएसम्म बजेटमाथि छलफल गर्न नदिने बताइन् । उनले भनिन्, 'माग पूरा नभएसम्म बजेटमाथि छलफल हुँदैन ।'

प्रदेश सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगन गरे पनि अहिलेसम्म बस्न सकेको छैन । अहिले सभामुख मण्डलको उपस्थितिमा विभिन्न दलका नेता सम्मिलित बैठक प्रदेशसभा सचिवालयमा जारी छ ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोसपासहित चार दलले बुझाएको ध्यानाकर्षण पत्रको विषयमा आधिकारिक धारणा आएपछि मात्र बजेटमाथि छलफल हुने बताइएको छ ।

यही असार १ गते मधेस प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले आर्थिक वर्ष २०८१/८२ का लागि रु ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट प्रदेशसभामा पेस गरेका थिए । चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजारको बजेट सार्वजनिक गरिएको  थियो । 


Author

थप समाचार
x