मधेश

दिवा खाजाकाे नाममा प्रदेश २ का स्थानीय तहमा २० कराेडभन्दा बढी अनियमितता !

इकागज |
भदौ ५, २०७८ शनिबार ९:१ बजे

जनकपुरधाम - विद्यार्थीलाई दिइने दिवा खाजामा प्रदेश २ का स्थानीय तहहरूले २० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा कोभिड महामारीका विद्यालयहरू २०७६ चैत महिनादेखि नै बन्द रहेको अवस्थामा स्थानीय तहहरूले दिवाखाजाको नाममा २० करोड २५ लाख २६  हजार रुपैयाँ निकासा गरेको उल्लेख छ । 

प्रतिवेदनमा विद्यालय बन्द रहेको अवस्थामा दिवाखाजाको नाममा रकम निकासा गर्नु अनियमितता रहेकोले खर्च यकिन गरी असुल गर्नुपर्ने भनिएको छ । प्रतिवेदन अनुसार २८ वटा नगरपालिकाका ५८२ विद्यालय र १३ गाउँपालिकाका १६६ विद्यालयमा दिवा खाजाको नाममा रकम निकासा गरिएको हो ।


धनुषाको सबैला नगरपालिकाले १ करोड १३ लाख, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, सिरहाको सिरहा नगरपालिकाले १ करोड ३८ लाख, रौतहटको फतुवा विजयपुर नगरपालिकाले ९७ लाख, गरुडा नगरपालिकाले ७७ लाख समेत गरि देशभरका २८ नगरपालिकाले २०७७ बैशाख, जेठ र असार महिनामा वास्तविकता यकिन नगरी दोस्रो र तेस्रो चौमासिकको पुरै दिवा खाजा १४ करोड २१ लाख ६८ हजार ५८२ रुपैयाँ विद्यालयहरुलाई निकासा गरिएकाे प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, दुर्गा भगवती गाउँपालिका रौतहटले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गाउँपालिका रौतहटले ७४ लाख ९९ हजार, छिन्नमस्ता गाउँपालिका सप्तरीले ५९ लाख ८६ हजार, जनक नन्दिनी गाउँपालिका धनुषाले ५५ लाख ९६ हजार, कौडेना गाउँपालिका सर्लाहीले ५४ लाख ७२ हजार समेत देशभरका १३ वटा गाउँपालिकाले १६६ वटा विद्यालयहरूलाई २०७७ बैशाख, जेठ र असारमा दोस्रो र तेस्रो चौमासिकको दिवा खाजाको ६ करोड ३ लाख ५६ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 

दिवाखाजाको नाममा अभिभावकलाई नगद वितरण गर्ने व्यवस्था नरहेपनि रौतहटस्थित परोहा नगरपालिकाले यस वर्ष अभिभावकलाई नगदै बुझाउने गरी दिवा खाजा वापत १ करोड १७ हजार निकासा गर्नु गलत रहेकाले असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।


Author

थप समाचार
x