मधेश

नेपाल प्रवेश गरेर बालुवा 'लोड' गर्ने भारतीय ट्र्याक्टर नियन्त्रणमा

माधुरी महतो |
पुस १०, २०७७ शुक्रबार १७:२३ बजे

वीरगन्ज : नेपाल–भारत दसगजा क्षेत्रको नेपाली भूमिमा प्रवेश गरेर जबरजस्ती बालुवा लोड गर्ने एक भारतीय ट्र्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टले ओरिया नदीको नेपाल तर्फको भूभागबाट बालुवा लोड गरिरहेको भारतीय ट्याक्टरलाई शुक्रबार नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको ट्र्याक्टर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरीको टोलीले नेपाल–भारत छुट्याउने पिलरभन्दा भित्र नआउन भने पनि नमानेपछि बीआर २२ जिबी २५९५ नम्बरको बालुवा लोड भएको भारतीय ट्याक्टर नियन्त्रणमा लिनुपरेको सशस्त्र प्रहरी निरीक्षक बसन्त जिसीले जानकारी दिए ।  ओरिया नदी क्षेत्रबाट बालुवा उत्खननका बिषयमा बेला बेलामा नेपाल र भारत पक्षबीच विवाद उत्पन्न हुँदै आएको स्थानीयहरु बताउँछन् । 


तीन वर्षअगाडि भारतीयको हस्तक्षेप रोक्न गएका सशस्त्र प्रहरीको  हतियारसमेत खोसेर भारतीयहरु भागेका थिए ।  भारतीय पक्षले टेण्डर आह्वान गरेपछि अहिले दैनिक रुपमा सयौँको संख्यामा ट्याक्टरहरू बालुवा लिनका लागि ओरिया नदी आउने गरेको र उनीहरुले नेपालतर्फ आएर जवरजस्ती बालुवा उत्खनन् गर्ने गरेकोले विवाद उत्पन्न हुने गरेको स्थानीयहरुले बताएका छन् ।

योसंगै सोही खोलाबाट सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपटिबाट सशस्त्र प्रहरी निरीक्षक केदार राईको नेतृत्वमा गएको गस्ती टोलीले पनि नेपाली भुमिमा प्रवेश गरि बालुवा लोड गरिरहेको अवस्थामा नम्बर पलेट नभएको भारतीय ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको ट्र्याक्टर आवश्यक कार्वाहीको लागि वीरुगन्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x