मधेश

उत्खनन् रोक्‍न गएका सशस्त्र प्रहरीमाथि भारतीयद्वारा आक्रमण

तीन जना घाइते

माधुरी महतो |
माघ ३०, २०७७ शुक्रबार १४:२६ बजे

वीरगन्ज : पर्साको जीराभवानी गाँउपालिका-१ पिपरडारीस्थित ओरीया खोलामा भइरहेको बालुवा उत्‍खनन् रोक्न गएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीयहरूले आक्रमण गरेका छन् ।  शुक्रबार बिहान नेपाली भूमीमै छिरेर सशस्त्र प्रहरीको टोलीमाथि भारतीइहरूले आक्रमण गरेका हुन् । भारतीयहरूको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सशस्त्र प्रहरी जवानद्वय आयुष राय यादवको कन्चटमा चोट लागेको छ भने महेशप्रसाद यादवको देब्रे हात भाच्चिएको प्रहरीले जनाएको छ । दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले बताए । अर्का घाइते सशस्त्र प्रहरी जवान सुमन वस्‍तीको भने सेढवास्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ । 


ओरिया खोलामा भारतीय पक्षबाट भइरहेको बालुवा उत्खनन् रोक्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले खोलामा बालुवा लोड गरिएका ३ वटा भारतीयका ट्याक्टर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ट्याक्टर लिएर आउने क्रममा खोला छेउका भारतको भंगाहा , इनर्वा र बिसनपूर्वालगायतका गाँउबाट भाला, बेल्चा, लठठीलगायतका घरेलु हतियार बोकेर आएका भारतीय तस्कर र गाउलेको समूहले प्रहरीको टोलीमाथि आक्रमण गरेको हो।

नेपाली भूमीको ओरीया खोलामा भारतीयले गर्दै आएको बालुवा तस्करी रोक्ने क्रममा यसअघि पनि पटक पटक नेपाली सुरक्षाकर्मीलाई भारतीयहरूले आक्रमण गर्ने गरेका थिए। भारतीय सीमासंग जोडिएको नेपालको पिपरडारी, पाण्डेपुर र बिसुनपुर्वामा अवस्थित दशगजा क्षेत्रमा ओरिया खोला पर्ने भए पनि ओरीया खोलाबाट भारतीयहरूले वर्षौदेखि बालुवा उत्खनन् गर्दै आएका छन् ।


Author

थप समाचार
x