मधेश

कांग्रेस धनुषामा निधि समूहको प्यानलै विजयी

सुभाष कर्ण |
फागुन २९, २०७८ आइतबार १८:३६ बजे

जनकपुरधाम– नेपाली कांग्रेस धनुषाको नेतृत्व कार्यसमितिमा विमलेन्द्र निधि समूहको बर्चस्व कायम भएको छ ।
पार्टीको १४ औं महाधिवेशन अन्तर्गत धनुषा जिल्लाको सभापतिमा निधि समूहका योगेन्द्र पजियार सहित अन्य पदाधिकारीमा समेत निधि समूहकै निर्वाचित भएका छन्।

सम्पन्न मतगणनामा निधि समूहको तर्फबाट उपसभापतिद्वय गणेश झा र लक्ष्मी नारायण यादव निर्वाचित भएका छन् । झाले १ हजार १ सय ४९ र यादवले १ हजार २ सय ५४ मत ल्याएका छन भने संस्थापन पक्ष देउवा समुहको तर्फबाट उपसभापति पदका उम्मेदवारहरु सुरेन्द्र प्रसाद मुन्नाले ७ सय ९८ र रामसोभित दाहा धानुकले ७ सय ६५ मत प्राप्त गरे ।


त्यस्तै, उपसभापतिका अन्य प्रत्यासीहरु डा. शेखर कोइराला समूहका गणेश प्रसाद जयसवालले ७ सय ८ र हरिशंकर साहले ५ सय ९६ मत पाएका छन्। कार्यसमितिको सचिव पदमा भने निधि समूहकै कन्हैया कुमार कर्ण एक हजार एक सय ६० र देबेन्द्र कुमार भरखेर एक हजार एक सय ७७ मतले विजयी भए।संस्थापन पक्षको तर्फबाट सचिव पदका उम्मेदवारहरु धिरेन्द्र मोहन झाले ८ सय ३३ र शिवशंकर गोइत साधुले ८ सय ३२ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिव पदमा निधि पक्षकै विजय यादव र सकिर राईन विजयी भएका छन् ।

यसअघि सभापतिमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार दोश्रो चरणको चुनावबाट ६ सय ८९ मतान्तरले निर्वाचित भईसकेका छन् । दोस्रो चरणको मतदानमा २ हजार ८ सय १४ मत खसेकोमा पजियारले १ हजार ७ सय ३५ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १ हजार ४६ मत ल्याएका थिए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x