मधेश

निर्वाचनमा तालमेल गर्न मधेशमा जिल्लास्तरीय बैठकको तयारी

सुभाष कर्ण |
चैत २९, २०७८ मंगलबार १९:५३ बजे

जनकपुरधाम- आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहमा निर्वाचनका लागि तालमेल गर्न जिल्लास्तरीय छलफल गर्ने सत्ता गठबन्धनका मधेश प्रदेशले निर्णय गरेको छ ।   आगामी स्थानीय तह निर्वाचनमा समेत सत्ता गठबन्धनलाई थप मजबूत पार्न सहमति र सहकार्यको आधारमा तालमेल गर्ने उद्देश्यले मंगलबार महोत्तरी जिल्लाको बर्दिबासमा सत्ता गठबन्धन दलको प्रदेशस्तरीय बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

बैठक बारे जानकारी दिदैं भने गठबन्धन दलका कांग्रेस प्रदेश अध्यक्ष कृष्ण यादवले भने ‘सत्ता गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि मजबूत पार्न सहमति र सहकार्यलाई निरन्तरता दिदै चैत ३० गतेदेखि वैशाख २ गतेसम्म पालिका तहको आधारमा जिल्लास्तरीय छलफल र जिम्मेवारी तोकिएको छ ।’


उनका अनुसार सप्तरी, बाराको जिम्मेवारी जनता समाजवादी पार्टी, सिरहा, धनुषाको नेकपा एसलाई, महोत्तरी सर्लाहीको नेकपा माओवादी केन्द्र र रौतहट पर्साको जिम्मेवारी कांग्रेसलाई छलफल गर्न÷गराउन जिम्मेवारी दिइएको छ ।

सो जिल्ला स्तरीय छलफल पश्चात गठबन्धन दलको वैशाख ३ र ४ गते दुई दिने भेला आयोजना गर्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश सचिव योगकुमार बरबरियाले जानकारी दिएका छन् ।

वैशाख ३ गते बिहान ८ बजेदेखि १२ बजेसम्म जनकपुरधाम स्थित कांग्रेसको प्रदेश कार्यालयमा धनुषा र महोत्तरी, दिउँसो २ बजेदेखि सिरहा सप्तरीको भेला हुनेछ । त्यस्तै वैशाख ४ गते जसपाको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा बिहान ९ बजेदेखि १ बजेसम्म सर्लाही र रौतहटको भेला हुनेछ भने दिउँसो २ बजेदेखि बारा र पर्सा जिल्लाको भेला हुने सचिव बरबरियाले जनाएका छन ।

बैठकमा गठबन्धनका घटक नेपाली काँग्रेस मधेस प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादव, नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका सचिव योगकुमार बरबरिया ‘जीवन’, नेकपा एकीकृत समाजवादी मधेस प्रदेश समितिका अध्यक्ष रामचन्द्र यादव र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x