बागमती

सुरुङ मार्ग मर्मतको लागि थपियो म्याद

सरिता दाहाल |
जेठ २६, २०७९ बिहीबार १७:५५ बजे

मकवानपुर - तोकिएको समयमा मर्मत गरेर सरकारी तवरबाट पुरस्कार लिने दाबीका साथ थालिएको काम समय सीमाभित्र नसक्दा तीन महिना म्याद थप गरिएको छ ।

निरन्तर काम गर्दा गर्दै पनि नसकिएको भन्दै ३ महिनाको लागि म्याद थप गर्न माग गरेपछि बागमती प्रदेश सरकारले  सुरुङ मार्गको मर्मत गर्ने समय सीमा थापेको हो । बागमती प्रदेशको राजधानी हेटौडा र मधेश प्रदेशलाई जोड्न सन् १९७४ सालमा नेपालमा सुरुङ मार्गलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाले पूर्णता पाएको छैन ।


राजा त्रिभुवन तथा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर  यो सुरुङ मार्ग खनिएको थियो ।

लामो समयसम्म प्रयोग र मर्मतसम्भार नभएपछि जीर्ण भएको सुरुङलाई सम्पदाका रूपमा संरक्षण गर्न बागमती प्रदेशको तत्कालीन सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता दिँदै  बजेट छुट्याएका थिए ।

मर्मत तथा संरक्षणका लागि विसं २०७८ साल साउनबाट पुनः निर्माण गर्न थालिएको सुरुङ मर्मतको काम अहिले अन्तिम चरणमा छ । पुनर्निर्माणका लागि माउन्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा पुनर्निर्माण सम्झौता गरेको थियो । करिब ५०० मिटर रहेको यो सुरुङको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको छ ।

सुरुङ पुनर्निर्माणको काम विसं २०७९ वैशाख १९ गते सक्ने गरी सम्झौता गरिएको थियो । तर मर्मत कार्य अन्तरगत सुरुङमार्ग अझै दोस्रो मुखमा छिचोल्न बाँकी छ । सहज रूपले आवतजावत गर्न मिल्ने गरी पुनर्निर्माण गरिएपछि सुरुङमार्गको दूरी घटेर २१५ मिटर मात्र बाँकी रहनेछ । 

प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव भण्डारीका अनुसार तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि यसको समय सीमा आगामी साउन महिनासम्म थपिएको छ ।

सुरुङ पुनर्निर्माणको काम हालसम्म ७० प्रतिशत सकिएको डा. भण्डारीले जानकारी दिए । सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको छ । सकेसम्म पुरानै स्वरूपमा मर्मत गर्न लागिएको भण्डारीले बताए ।

सन् १९७४ मा बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी जोड्ने सडक बनाउने बेलामा तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको थियो ।

पहाड खोपेर बनाइएको सुरुङमा चुना सुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगाहरु राखिएका छन्, खोपहरू कुँदिएका छन् । सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने छ । उक्त मार्गबाट २०२० सालसम्म सवारी आउजाउ हुने गरेको पूर्व मुख्यमन्त्री पौडेलको भनाइ छ ।

`प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यहीं सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो`, पौडेलले भने ।

हेटौंडाको चुरियामाई सुरुङ मार्गले इतिहास बचाउने मात्र होइन पर्यटनको पनि प्रवद्र्धन गर्न आशा गरिएको छ । मर्मत कार्य पुरा भएपछि सुरुङमार्गको अध्ययन प्रयोजनका लागि खुल्ला गरिने छ । `यो स्थान इञ्जिनियरीङ्गको विद्यार्थीको लागि महत्वपूर्ण सावित हुनसक्छ` पौडेलले भने ।

हेटौंडा उपमहानगरको १५ नम्बर वडामा पर्ने यो स्थानमा उपमहानगरले सुरुङका डिजाइन गर्ने इञ्जिनियर डिल्लीजङ्ग थापाको अर्धकदको सालिक समेत स्थापना गरिसकेको छ ।


Author

थप समाचार
x