बागमती

मकवानपुर गोल्डकपः उपाधिका लागि घरेलु टोली विजय युथ र आर्मी भिड्दै

सरिता दाहाल |
जेठ २९, २०७९ आइतबार २०:६ बजे

मकवानपुर । हेटौंडामा भइरहेकाे चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल साेमबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि घरेलु टोली विजय युथ क्लब हेटाैडा र विभागीय टाेली आर्मी क्लब भिड्दै छन् ।

यस अघिको तेस्रो संस्करणको मकवानपुर गोल्डकपमा पनि आर्मी र विजय युथ बीच नै फाइनल भिडन्त भएको थियो । फाइनलमा आर्मी विजेता बनेको थियो भने विजय युथ उपविजेता बनेको थियो । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने दुई टोली बीचको खेल दिउँसो ३ बजेर ३० मिनेटमा हुनेछ ।


विजय युथ क्लब समूह ‘ए’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो । आर्मी समूह ‘बी’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको छ। विजय युथले नव जनजागृति युवा क्लब सिमरा र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । यस्तै आर्मीले नेपाल एपीएफ र क्यामरुनी टोली एभिनियर एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्बोकृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछ ।

आइतबार जेठ २९ गते भएकाे प्री म्याच कन्फ्रेन्समा प्रतियोगिताको उपाधि हात पार्ने योजनासहित आफ्नो टिम मैदान उत्रने आर्मीका प्रशिक्षक नवीन न्यौपानेले दाबी गरेका छन् । ‘घरेलु टोलीसँग खेल्न पाउँदा धेरै खुशी लागेको छ’ न्याैपानेले भने ‘घरेलु टोलीको दर्शकको मन जितेर उपाधि हात पार्छाै ।’ उनले फाइनल खेलमा आफ्नो टिममा नयाँ खेलाडी थप नहुने जानकारी दिए ।

आर्मीका कप्तान भरत खवासले फाइनलसम्म पुग्दा खुशी लागेको र फाइनल खेलका लागि पुरा तयारी रहेको बताए । घरेलु टोलीसँग खेल्दा केही असहज हुने र घरेलु टोलीलाई नै सर्मथन, हौसला मिल्ने उनको भनाई छ । कप्तान खवासले घरेलु दर्शकलाई मैदान आएर मनपर्ने टिमलाई हौसला प्रदान गरेर माया गरिदिन आग्रह समेत गरेका छन्

यस्तै विजय युथ क्लबका कप्तान अशोक बरालले उपाधि जित्ने गरी खेल्ने बताए । आफूहरु भन्दा सिनियर टिमले भरिएको आर्मीसँग खेल्न भने केही असहज हुने उनले बताए । राम्रै मिहेनत गरेर फाइनल पुगेको र फाइनलसम्म पुग्नु पनि ठुलो उपलब्धी हाे तर पनि फाइनल खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रन्छाैं ।' बराल भने ।

चौथौं मकवानपुर गोल्डकपको संयोजक प्रताब विष्टको सभाध्यक्षतामा भएको प्रि म्याच कन्प्रेन्समा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल लगायत जिल्ला फुटबल संघका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।


Author

थप समाचार
x