बागमती

जिसस मकवानपुरकाे निर्वाचन : ९ पदका लागि १२ जनाको उम्मेदवारी

सरिता दाहाल |
जेठ ३१, २०७९ मंगलबार ८:४६ बजे

मकवानपुर- जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता सकिएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख, उपप्रमुख र सदस्य पदका लागि १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आज मनोनयन दर्ता गराएका उम्मेदवारमाथि दाबी विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । 


९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुख र ७ जना सदस्य रहने प्रावधान रहेको छ । प्रमुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले मनोनयन दर्ता गराएका छन् । 

घलान स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै प्रमुख पदमा नेकपा एमालेबाट इन्द्रसरोवर गाउँपालिकाका बुद्धिराम डिम्डुङले मनोनयन गराएका छन् । डिम्डुङ स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट इन्द्रसरोवर ३ को वडा सदस्यमा निर्वाचित भएका हुन् ।  

उपप्रमुख पदमा भने गठबन्धनको तर्फका नेपाली कांग्रेसबाट मनहरी गाउँपालिकाका सानुकाजी लुइँटेलले मनोनयन गराएका छन् । सो पदमा उनले मात्रै मनोनयन गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लुइँटेल स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट मनहरी गाउँपालिका ३ को वडा सदस्यमा निर्वाचित भएका थिए ।  

त्यस्तै जिसस सदस्यमा ३ जना महिला रहने प्रावधान भएकोमा ४ जनाले मनोनयन दर्ता गराए छन् । उक्त पदका लागि निर्वाचन हुने भएको छ । महिला सदस्य पदमा नेपाली कांग्रेसबाट क्रमशः तारा ढुंगाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ र नेकपा एमालेकी बिनाकुमारी थिङ लामाले उम्मेदवारी दिएका हुन् । 

त्यस्तै दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । अन्य खुल्ला सदस्यहरुमा नेकपा एकीकृत समाजवादीबाट विरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रका सुवर्ण गोपाली माओवादीकै खड्गबहादुर पुलामी र एमालेका तोयानाथ तिमल्सिनाले उम्मेदवारी दिएका हुन् । खुल्ला सदस्य ३ जना हुने व्यवस्था भएपनि ४ जनाको उम्मेदवारी परेकोले सो पदमा पनि निर्वाचन हुने भएको हो । 

आज उम्मेदवार विरुद्ध दाबि बिरोध तथा मनोनयन पत्रको जाँच र उजुरी परेमा त्यसउपर निर्णय गरिने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा लिन सकिने र नलिएको अवस्थामा अन्तिम नामावली प्रकाशन हुनेछ । असार १ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र २ गते मतदान हुने कार्यसूचि रहेको जनाइएको छ । 

मकवानपुरमा १ उपमहानगरपालिका, १ नगरापलिका र ८ वटा गाउँपालिका रहेका छन् । कानून अनुसार सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । स्थानीय तह सदस्य निर्वाचन,२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरु मध्ये पालिका प्रमुख र उप प्रमुखमा कांग्रेसको ९, माओवादी केन्द्रको ७, नेकपा एमालेको ३ र एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।


Author

थप समाचार
x