बागमती

थाहानगर : जहाँ कर तिर्न कार्यालय धाउनु पर्दैन

सरिता दाहाल |
असार १८, २०७९ शनिबार ९:४८ बजे

मकवानपुर - मकवानपुरको थाहा नगरपालिकाले इ–पेमेन्ट अर्थात् अनलाइन भूक्तानी प्रणाली सुरु गरेको छ । अब सेवाग्राहीले घरमै वा आफ्नो कार्यालयमा नै बसेर नगरपालिकालाई तिर्नुपर्ने सबै प्रकारको कर तिर्न सक्ने छन् । भ्याइनभ्याईगरी कार्यालय धाएर, कर तिर्नको लागि लाइन बस्ने झन्झट गर्नु पर्दैन । 

नगर कार्यपलिकामा नयाँ जनप्रतिनिधि आएपछि सेवाग्राहीको सजताको लागि अनलाइन सेवा सुरू गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सोहीअनुसार अनलाइन प्रणालीबाट विभिन्न सेवाको सुरू गरेको हो ।


नगरपालिकाले चालु आर्थिक वर्षको १७ असारसम्म मात्र एकसय बढी आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा व्यक्तिहरूको भूक्तानी इ–पेमेन्ट मार्फत् गरिसकिएको  नगरपालिकाका लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए ।

थाहा नगरपालिकाले संघीय संचित कोषमा जम्मा हुने सबै प्रकारको कर तथा निर्माण व्यवसायी, परामर्शदाता, आपूर्तिकर्ता र अन्य सेवा प्रदायक संस्था र व्यक्ति सबैको कट्टी गरेको विभिन्न कर समेत इ–टिडिएस गर्ने कार्य थालिसकेको छ ।

नेपाल सरकारले विकास गरेका इसेवा प्रणाली तथा प्रविधि प्रयोगमा ल्याइरहँदा यसबारे आम सरोकारवालालाई सुसुचित गराउन सके थप प्रभावकारी हुने लेखा अधिकृत खपाङ्गी मगरले बताए । 

पूर्णरूपमा ई–पेमेन्ट कार्यान्वयनका ल्याउनका लागि पालिकाबाट भूक्तानी लिनेको बैंक खाता अनुसारको नेपाली तथा अंग्रेजी नाम, बैंकको नाम, शाखा, खाता नम्बर र सम्बन्धितको प्यान वा भ्याट नम्बर अनिवार्य हुनुपर्ने उनले जानकारी दिए ।

पालिकाले १७ असारसम्म एक करोड बढीको भुक्तानी इ–पेमेन्टमार्फत् गरिसकेको लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए । ‘हामीले आपूर्तिकर्ता, निर्माण व्यवसायी, संस्थागत व्यक्तिगतलगायतको इ–पेमेन्ट गरिरहेका छौँ, असार महिनाको कर्मचारीको तलब ई–पेमेन्ट गर्ने तयारी पूरा भएको छ’– खपाङ्गी मगरले भने ।

आगामी आर्थिक वर्ष २०७९/०८० बाट पूर्णतः इपेमेन्ट प्रणाली प्रयोगमा ल्याउँने तयारी नगरपालिका लागि परेको मेयर बिष्णु बिष्टले बताए । पालिकाले आगामि आर्थिक वर्षबाट सबै प्रकारको खरिद वस्तु, निर्माण कार्य, परामर्शदाता र अन्य सेवाको खरिदको लागि खरिद इकाइ, मुल्याङ्कन समिति र रुजु समितिलाई समेत थप क्रियाशील गराई  सेवा प्रवाह गरिने मेयर बिष्टले बताए ।

नगरमा तिर्नुपर्ने करलाई पनि पूर्णतः अनलाइन प्रणाली बनाइने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । थाहा नगरले यसअघि पनि एउटा वडाको कर अर्को वडाबाट तिर्न सकिने व्यवस्था गरेको थियो ।


Author

थप समाचार
x