बागमती

उपमहानगरको सहयोगमा कोशेली घर सञ्चालन

इकागज |
भदौ २२, २०७९ बुधबार १९:१० बजे

मकवानपुर । महिलाहरुले घरमै बसेर उत्पादन गरेको विभिन्न सामग्री बिक्रीका लागि हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोशेली घर सञ्चालनमा ल्याइएको छ।जाल्पादेवी महिला उद्यमी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यमी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोशेली घर सञ्चालन गरिएको हो । कोशेली घरको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले आज उद्घाटन गरिन् ।

कोशेली घरको उद्घाटन गर्दै उपमहानगरपालिका प्रमुख लामाले महिलाहरुको श्रमलाई मर्न नदिनका लागि कोशेली घर सञ्चालनमा सहयोग गरेको बताइन् । उपमहानगरपालिकाले दिएको तालिमबाटै उत्पादन भएका सामग्रको बजारीकरणमा सहयोग पुग्ने र महिलाहरुलाई दिगो आयआर्जनमा जोड्ने ​ कोशेली घरको उद्देश्य रहेको छ ।

उपमहानगरले हरेक वर्ष तालिमबाट ३८० जना महिलालाई दिगो आर्य आर्जनमा जोड्ने बताइन् । उपमहानगरपालिकाले महिलाहरुको आयआर्जनका लागि दिएको विभिन्न तालिमबाट दिक्षित भएका प्रशिक्षार्थीहरुले उत्पादन गरेको सामग्री विक्री र बजारीकरणका लागि कोशेली घर सञ्चालनमा ल्याइएको हाे ।

उपमहानगरपालिकाको विभिन्न वडाहरुमा सञ्चालन लक्षित वर्गका सीपमूलक तालिम लिई उत्पादनमा लागेपनि बजारीकरणका कारण समस्या व्यहोर्दै आएका महिलाहरुको उत्पादनलाई बजार लैजान कोशेली घरले पुलको काम गर्ने व्यवस्थापक जाल्पादेवी महिला उद्यमी केन्द्रका अध्यक्ष गीता मैनालीले बताइन् ।

उनका अनुसार अहिले कोशेली घरमा विभिन्न प्रकारका सामान उत्पादन गर्ने २० जना उद्यमीहरु जोडिएका छन् । उनीहरुले उत्पादन गरेको विभिन्न प्रकारका सामग्रीहरु बजारीकरणका लागि राखिएको मैनालीले बताइन् । कोशेली घरमा ढाकाका उत्पादनहरु साडी, कुर्तासुरुवा, व्याग, जुत्ता, बिवाहमा प्रयोग हुने साइपाटाका सामान, पूजाका लागि प्रयोग हुने दुना टपरी, धुप बत्ती, उनबाट बनेका कपडा, विभिन्न प्रकारका अचार, खादासहितका सामग्री राखिएको छ ।



Author

थप समाचार
x