बागमती

हेटौंडामा बाल कला साहित्य महोत्सव हुने

इकागज |
माघ २१, २०७९ शनिबार ९:२७ बजे

मकवानपुर- मकवानपुरको हेटौंडामा बाल कला साहित्य महोत्सव आयोजना हुने भएको छ । महोत्सवमा बाल कला र साहित्यबारे भारत र पाकिस्तानका साहित्यकारहरूसँग प्रत्यक्ष अन्तरक्रिया हुनेछ ।

नवोदय शिशु सदन विद्यालय हेटौंडा, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेज र काठमाडौँ पब्लिकेशनको आयोजनामा माघ २७ र २८ गते हुने महोत्सव हुने भएको हो ।  


बाल कला साहित्य महोत्सव सम्बन्धी जानकारी दिन पत्रकारसँग भेटघाट कार्यक्रम गर्दै आयोजक नवोदय शिशु सदन विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक सीएम रिमालले सिर्जनात्मक पठन सस्कृतिको विकास गर्ने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको बताए । 

दुई दिने कार्यशालामा ६ हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावकसहित सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवमा कलाकार मदनकृष्ण श्रेष्ठ, नाटककार अशेष मल्ललगायतका राष्ट्रिय व्यक्तित्वहरू उपस्थित हुने नबोदयका निर्देशक दिपेश जोशीले बताए । महोत्सवमा मुख्य आकर्षकको रूपमा भारत र पाकिस्तानमा बाल साहित्य प्रवर्द्धनको अभ्यास र नेपालको अभ्यास अध्ययन र सिकाई सहयोगबारे अन्तरक्रिया हुनेछ । 

महोत्सवमा भारतीय लेखक तथा वृतचित्र निर्देशक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहने रिमालले जानकारी दिए । महोत्सवका नियमित सहभागी नेपाली लेखक अनुराधाको समन्वयमा मिश्र र हुसेन हेटौंडा आउने भएका हुन् । 

'विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने मूल उद्देश्य महोत्सवको हो' विद्यालयका निर्देशक जोशीले भने 'सहभागी हुने विद्यार्थीमा कला–साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि हुने, स्थानीय कला–साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउन मद्दत गर्छ ।' नवसर्जक र स्थापित सर्जकबीच अन्तरक्रियाको अवसर सिर्जनाका साथै बौद्धिक जनशक्ति निर्माण गर्ने समेत महोत्सवको उद्देश्य रहेको निर्देशक जोशीले बताए ।

हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन मावि परिसरमा आयोजना हुने महोत्सवको पहिलो दिन १२ वटा विविध विषयमा फरक फरक व्यक्तित्वले सहजीकरण गर्ने गरी कार्यशाला हुने महोत्सवका संयोजक सिएम रिमालले जानकारी दिए । करिब १५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा विद्यार्थीले आफ्नो कला प्रस्तुतीकरण समेत गर्नेछन् । 

समसामयिक विषयमा संघसस्था, साहित्यकार, पत्रकार, विद्यार्थी र शिक्षक सम्मिलित प्यानल डिस्कसन गर्ने, पञ्चे बाजा, माझी बाजा, धिमे, खैजडीजस्ता परम्परागत बाजागाजा र नृत्यहरू समेत गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा खानाका स्टलहरू राखिने छन् भने पुस्तक पर्दशनी, चित्र प्रर्दशनी, आत्मकथा वाचन लगाएका कार्यक्रम तय भएको छ । 

यसअघि पनि विद्यालयले २ पटक बाल साहित्य महोत्सव आयोजना गरिसकेको छ ।

हेटौंडा उपमहानगरपालिका, प्याब्सन मकवानपुर, सर्जक सञ्जाल मकवानपुर, बुक ल्याण्ड, नेपाल बाल साहित्य समाजलगायतका संघसस्थाको सहकार्यमा महोत्सव आयोजना हुने भएको कार्यक्रममा बताइएको छ ।


Author

थप समाचार
x