बागमती

विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठक सर्ने सम्भावना

इकागज |
चैत ८, २०७९ बुधबार १६:६ बजे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनको लागि आज बस्ने भनेको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

नेपाली कांग्रेस वागमती प्रदेश कार्यसम्पादन समितिको हिजो मंगलबार बसेको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेपनि आज सबै सांसदहरु हेटौंडामा छैनन् । आज ३ बजेको लागि बोलाइएको बैठक अहिलेसम्म सुरु भएको छैन । आज वागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश समिति बैठकले गरेको निर्णयको आधारमा मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो। 


आज बैठक बस्ने संभावन साह्रै न्यून रहेको बताइएको छ । ३ बजेलाई बैठक बोलाइएकोले २ घण्टा म्याद हुन्छ । “सायद बैठक बसेन भने साँझ ५ बजे सूचना प्रकाशन गरेर बैठक सारिनेछ” प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले भने ।

यता नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिन शर्त राखेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाका लागि शर्त अघि सारेको बुझिएको छ । 

आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । 

केन्द्रमा बनेको समीकरण अनुसार नै हामी चल्छौ, तर हामी राजीनामा दिनु अघि प्रदेशसभा बैठकमा आफ्नो कुरा राख्छौ” थपलियाले भने । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत दिने र अन्य प्रक्रिया अघि बढाउन दबाब दिएको बुझिएको छ ।

यता एमालेले प्रदेशसभा बैठक जहिले बोलाउँछन्, त्यही बेला आफूहरुको कुरा राखेर राजीनामा दिने तयारी गरेको छ । प्रदेशसभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयारी एमालेको मन्त्रीहरुको छ ।

आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरिएको छ । तर उक्त बैठकमा नेपाली कांग्रेसका सांसद भने अनुपस्थित हुने भएका छन् । आफूहरुसँग सल्लाह नै नगरी मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेको भन्दै कांग्रेसले प्रदेशसभा बैठकमा अनुपस्थित हुने जानकारी मुख्यमन्त्री जम्कट्टेललाई गराइसकेको छ


Author

थप समाचार
x