काठमाडौँ महानगरले थाल्यो रात्रिकालीन अनुगमन, जथाभावी फोहोर फाल्नेलाई कारबाही
फाइल तस्बिर
काठमाडौँ- सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।
यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहोर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ । बुधबार राति वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा४च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो ।
जरिवाना असुल गरी उक्त गाडीलाई फोहोर जथाभावी नफाल्ने सर्त राखेर रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । दुई हप्ताअघि पनि कामपाले तोकिएको स्थान भन्दा अन्यत्र फोहोर फाल्नेबाट कारबाहीस्वरूप रु १२ हजार जरिवाना असुल गरेको थियो ।
वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहोरको व्यवस्थापन गर्नका लागि कामपाको फोहोर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ ।
फोहोरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । “नागरिकले सडकमा यत्रतत्र फोहोर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई रु पाँच सयदेखि पाँच हजारसम्म जरिवानासमेत तिराउने गरेको छ”, प्रमुख श्रेष्ठले भने ।
कामपाले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ ।
उपत्यकाको १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहोर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन् । पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै कामपाले अनधिकृत फोहोर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह गरेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया