बागमती

सकियो साउन, सकिएन धान रोपाइँ

इकागज |
भदौ ७, २०८० बिहीबार १२:५५ बजे

मकवानपुर- वर्षे धान रोपाइको मौसम सकिदा पनि यस वर्षको रोपाइँ सकिएको छैन । राम्रो वर्षा नभएको कारण पानीको मुल राम्ररी नफुटेपछि बागमती प्रदेशमा झण्डै ७ हजार ९५० हेक्टर जमिनमा धान रोपाइँ बाँकी रहेको छ ।

प्रदेशको कृषि तथा पशुपन्छ विकास मन्त्रालयका अनुसार यहाँको कुल १ लाख १३ हजार ५२३ जमिनमा वर्षे धान हुने गरेकोमा ७ प्रतिशत भूभागमा रोपाइँ बाँकी रहेको छ ।  बागमती प्रदेशमा हालसम्म ९३ प्रतिशत रोपाइ सकिएको मन्त्रालयका कृषि अर्थ विज्ञ अनुप अधिकारीले बताए ।


सिंचाइ सुविधा भएका जमिनमा थोरै वर्षा हुँदा पनि नदिको पानी खेतसम्म पुर्‍याउन सहज भएपछि रोपाइँ सकिएको छ । यि क्षेत्रमा रोपो गोडेर समेत सकिएको छ, तर जहाँ सिचाइ सुविधा छैन र वर्षाको भर पर्नुपर्छ ति क्षेत्रहरुमा रोपाइ बाँकी रहेको अधिकारीले बताए ।

तथ्याङ्क अनुसार प्रदेशको रामेछाप जिल्लामा सबैभन्दा कम रोपाइ भएको छ। यहाँ हालसम्म ७५ प्रतिशतमात्रै रोपाइँ सकिएको छ । यसैगरी सिन्धुपाल्चोकमा ८९, काभ्रेपलाञ्चोक र मकवानपुरमा ९० प्रतिशत रोपाइँ सकिएको छ । सिन्धुली र चितवन जिल्लामा ९५ र धादिङ जिल्लामा ९६ प्रतिशत रोपाइँ भएको छ ।

नुवाकोट र रसुवामा ९९ प्रतिशत रोपाइँ सकिँदा प्रदेश उपत्यकाको तीन जिल्लामा भने सतप्रतिशत रोपाइँ सकिएको छ ।

बागमती प्रदेशमा हालसम्म कुल १ लाख ५ हजार ९६४ हेक्टर जग्गामा रोपाइ सकिएको अधिकारीले बताए । “कतिपय जमिनमा अझै सिँचाइ सुविधा पुर्‍याउन सकिएको छैन, प्रदशे सरकार यसको लागि लागिपरेको छ” अधिकारीले भने ।

रोपाइ सकिएको धानबालीमा रासायनिक मल दिने बेला भएकोले मलको माग पनि बढेको छ, तर मल बजार सहज उपलब्ध नहुँदा किसान आजित छन् । रोप्ने बेलामा बल्लबल्ल पाएको मल अब दोहोरो गोड्दाको बेलासम्म अर्को पटक दिनुपर्छ, मल पाउनै समस्या छ” मकवानपुर हेटौंडाकी रमा चौलागाईंले भनिन् ।

बागमती प्रदेशमा ९३ हजार ८३ मेट्रिकटन युरिया मलको माग छ । यसैगरी डिएपी मल ३८ हजार ७८५ मेट्रिक टन र पोटास मलको माग २३ हजार २७१ मेट्रिकटन रहेको मन्त्रालयले जनाएको छ । रासायनिक मल प्रयोगलाई कमी गर्दै प्राङगारीक मल प्रयोग बढाउन मन्त्रालयले पहल जारी रहेको बताएको छ ।


Author

थप समाचार
x