बागमती

प्रधानमन्त्री दाहाल हेटौंडा आउँदै

इकागज |
भदौ २३, २०८० शनिबार २०:१ बजे

फाइल तस्बिर

मकवानपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल बागमती प्रदेशकाे राजधानी हेटौंडा आउने भएका छन् । भदौ २४ गते आइतबार हेटौंडामा हुने चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री आउने भएका हुन् ।

शनिबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले आइतबार हुने सन्देश सभाको जानकारी दिएकी हुन् । भुसालका अनुसार हेटौंडास्थित रोयल पार्टी प्यालेसमा हुने सभाकाे तयारी पूरा भएको छ । दिउँसो १२ बजेबाट सभा सुरु उनले बताइन् ।


सभालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने तथा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गरिने बताइएको छ ।

यसैबीच जननायक तथा पूर्व प्रधानमन्त्री वीपी काेइरालाकाे अर्धकदकाे प्रतिमा अनावरण गर्न नेपाली कांग्रेस वरिष्ठ नेता शेखर कोइराला हेटौंडा आउने भएका छन् ।

भदौ २४ गते हेटौंडा ११ स्थित वीपी वाटिकामा निर्माण गरिएकाे वीपीकाे प्रतिमा अनावरण गरिने कार्यक्रम रहेकाे तथा उक्त प्रतिमा अनावरण गर्न काेइराला हेटौंडा आउने नेपाली कांग्रेस मकवानपुरले जनाएकाे छ । कांग्रेस मकवानपुरकाे आयोजना तथा वीपी विचार समाज मकवानपुरको संयोजनमा वीपीकाे १ सय १० औं जन्मजयन्तीकाे अवसरमा प्रतिमा अनावरण कार्यक्रम हुने शुक्रबार हेटौंडामा पत्रकार भेटघाट मार्फत जानकारी गराइएकाे हाे ।

वीपी विचार समाज मकवानपुरले २४ गते नै वीपीको विचारको सान्दर्भिकताको विषयमा वीपी विचार विषयक गोष्ठी समेत आयाेजना गर्ने भएकाे छ । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार नेता डा. कोइरालाले जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई राष्ट्रिय राजनीति तथा कांग्रेसकाे पछिल्लाे समयकाे रणनीतिको विषयमा जानकारी दिने छन् ।


Author

थप समाचार
x