बागमती

पराजुलीको पर्खाल कविता प्रथम

इकागज |
असोज २८, २०८० आइतबार ११:८ बजे

मकवानपुर- हेटौंडा भएको खुला कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुलीको पर्खाल कविता प्रथम भएको छ । प्रदेश युवा परिषद बागमती आयोजना र साहित्य संगम मकवानपुरको सहकार्यमा भएको राष्ट्रिय युवा कविता उत्सव २०८० अन्तरगत खुला कविता प्रतियोगितामा पराजुलीले प्रथम स्थान हासिल गरि ४० हजार नगद  पुरस्कार प्राप्त गरे ।

यस्तै चितवनका कवि अन्जान प्रदीपको कविता ‘कुण्डली’ले द्वितीय स्थान साहिल गरेको छ । द्वितीय हुँदै प्रदिपले ३० हजार पुरस्कार प्राप्त गरे । यसैगरी नुवाकोटका कवि एलिसा एकलासको कविता ‘निर्धो बक्ररेखा’ले तृतीय स्थान हासिल गर्दै २० हजार पुरस्कार प्राप्त गरिन । कविता प्रतियोगितामा तनहुँका भीमप्रसाद खतिवडा अनुरागको ‘मेरो यात्रा’ कविताले सान्त्वना भइ १० हजार रूपैयाँ प्राप्त गरे ।


कविता प्रतियोगिताको लागि प्राप्त १सय ५३ कवितामध्ये प्रारम्भमा उत्कृष्ट २० छनौट गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट २० मा छनौट भएका मध्ये १८ जना कविका कविता शनिबार हेटौंडामा वाचन समेतका आधारमा अङ्क प्रदान गरी नतिजा सार्वजनिक गरिएको निर्णायक मण्डल संयोजक निमेष निखिलले बताए ।

उत्कृष्ट कविताका कविहरूलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान र परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले नगदसहित कदरपत्रले सम्मान गरेका थिए ।

३ सदस्यीय निर्णायक मण्डल मण्डलमा चितवनका कवि भूपिन खड्का, काठमाडौँकी कवि डा. विन्दु शर्मा र हेटौँडाका कवि निमेष निखिल रहेका थिए ।

मन्त्री मोक्तानले युवाहरू लेखन, वाचन लगायत साहित्य सिर्जनामा लाग्नु सकारात्मक पाटो रहेको बताईन । उपाध्यक्ष चौलागाईँले पढ्ने मान्छेमा लेख्ने क्षमता हुने हुँदा पुस्तक पढ्नका लागि प्रेरित गर्नुपर्ने र यस अभियानमा सरिक सबै लेखकलाई धन्यवाद दिए।

विशिष्ट अतिथि कवी विप्लव प्रतिक र पूर्व सभासद् अनन्त पौडेल रहनु भएको कार्यक्रममा मकवानपुरका सम्पूर्ण साहित्यिक संस्थाबाट प्रतिनिधित्व गर्दै सर्जक सञ्जालका संयोजक तथा कविताका निर्णायक निमेष निखिलले मन्तव्य ब्यक्त गरेका थिए ।

सङ्गम अध्यक्ष डीबी बर्तौलाले मन्तव्यकका क्रममा साहित्य सङ्गमले साहित्य क्षेत्रको उन्नयनका लागि गुणात्मक कार्यक्रमहरू गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

युवा पुस्तामा कविता क्रेज सत्रको बहसमा समीक्षक घनश्याम घिमिरे, कविद्वय केशव सिलवाल र सीमा आभास सहभागी रहेका थिए । बहसलाई सङ्गम अध्यक्ष बर्तौलाले सहजीकरण गरेका थिए ।

यसैगरी एकल कविता वाचन सत्रमा कवि विप्लव प्रतीकले १० कविता वाचन गर्दा सुनाउदा उपस्थित दर्शक मग्न भएको थिए । सङ्गम उपाध्यक्ष सानु खनालले पूर्व पत्रकार, गीतकार, अनुवादक, रङ्गकर्मीका साथै युवा पुस्ताका रोजाइका कविमध्ये एक भएकोले कार्यक्रमको एक महत्वपूर्ण हिस्साका रूपमा विप्लवलाई उपस्थित गराइएको बताए ।

पठन संस्कृतिमा टेवा पुर्याउन किताबघर हेटौँडाले पुस्तक प्रदर्शनी समेत कार्यक्रम भरी गरेको थियो  । सर्जकहरूले प्रदर्शनीबाट आफ्नो रोजाइका पुस्तकहरू सङ्कलन गरेको किताब घर संचालक छवि अनित्यले जानकारी दिए ।


Author

थप समाचार
x