बागमती

बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छ : प्रमुख दाहाल

इकागज |
माघ १४, २०८० आइतबार ११:४९ बजे

चितवन - भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छिन् । 

प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् । 


महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको प्रमुख दाहालले बताइन् । 

यस्तै बुवा–आमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उनले बताए । 

प्रमुख दाहालले प्रहरी नागरिक साझेदारी अभियान नेपाल (पिटुसिटु)ले सडकमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरी पुनःस्थापन गर्ने काम गरेकोप्रति उच्च प्रशंसा गरिन् । 

‘राज्यले एक्लै गर्नुपर्ने कार्य सबैको साथ सहयोगबाट भएको छ, उनले भनिन्, ‘भरतपुर महानगरबाट ठूलो सहयोग भएको छैन् । संवेदनशील र अवस्था अनुसार अझै बढी सहयोग गर्नुपर्छ । यहाँहरु खुसी भएपनि म भने खुसी छैन ।’ प्रमुख दाहालले पिटुसिटुको विकासका लागि आगामी दिनमा महानगर तत्पर र अग्रसर रहने प्रतिवद्धता व्यक्त गरिन् । 

महानगरपालिकाले पिटुसिटुमा रहेका विगत ३ वर्षदेखि वार्षिक रुपमा प्रति बालबालिका रु ४० हजार सहयोग गर्दै आइरहेको छ । नेपालमै पहिलो पटक प्रहरी नागरिक साझेदारीमा ७ वर्षअघि सञ्चालनमा ल्याएको केन्द्रमा हाल ९ जना बालबालिका आश्रित छन् ।

भरतपुर महानगरपालिकाले यहाँका सुधार गृह तथा पुनःस्थापना केन्द्रलाई नियमन गर्न उपप्रमुखको संयोजकत्वमा कार्यविधि र मापदण्ड निर्माण गरी काम गर्दै आइरहेको प्रमुख दाहालले जानकारी दिइन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले बालबालिकाहरू विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा पर्ने बताए ।  पारिवारिक असमझदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधैं उच्च जोखिममा जाने हिंसा शोषण र दुर्व्यवहार सहन बाध्य हुने गरेको उल्लेख गरे ।  

उनीहरू नबोलेर पीडा व्यक्त गर्न सक्दैनन् भने वयस्कले जस्तो विरोध गर्न पनि नसक्ने उनको भनाइ छ । त्यसैले राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी रहेको महानिरीक्षक कुँवरले बताए । 

पिटुसिटु कुनै पनि सडक बालबालिका सडकमा बस्न बाध्य हुन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो ।

कार्यक्रममा पिटुसिटु नेपालको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा महानिरीक्षक कुँवरलाई साधारण सभा तथा अधिवेशनको अवसरमा सम्मान पनि गरिएको थियो । 


Author

थप समाचार
x