बागमती

बेथानचोकको एउटै वडाबाट दुई करोड बढीको सुन्तला बिक्रीको लक्ष्य

इकागज |
माघ १६, २०८० मंगलबार १२:५७ बजे

फाइल तस्बिर

धुलिखेल (काभ्रेपलाञ्चोक)- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्तला निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बेथानचोक गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर लामाले बताए । 
    
उनले वडा नं–४ पालिकामै राम्रो सुन्तला उत्पादन हुने क्षेत्र भएको बताए । उनका अनुसार सो वडाको धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ लगायतका स्थानमा सुन्तला राम्रो फलेको छ । यहाँका किसनाको मुख्य आम्दानीको स्रोत नै सुन्तला हुने गरेको छ । 

'मैले वार्षिक रु एक लाख ५० हजारभन्दा बढीको सुन्तला बिक्री गर्दै आएको छु',  वडाध्यक्ष लामाले भने, 'यसवर्ष मात्रै एक लाख ७२ हजारको बिक्री गरेको छु, अझै केही टिप्न बाँकी छ ।' भूकम्पपछिका पछिल्ला केही वर्षमा सुन्तला उत्पादनमा ह्रास आएको भए पनि यस वर्ष निकै राम्रो फलेको उनले बताए ।


केही वर्ष अगाडि बोट सुक्ने र कीरा लाग्ने समस्या रहेकोमा पालिकाको कृषि शाखाबाट गतवर्ष कीटनासक औषधि छर्नका लागि अनुदान पाएपछि यसवर्ष राम्रो फलेको उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाका–४ लगायत अन्य वडामा पनि किसानले राम्रो सुन्तला उत्पादन गर्दै आएकाले पालिकाले गत वर्षदेखि सुन्तला प्रबद्र्धनका लागि कृषि शाखामार्फत आवश्यक सहयोग गर्दै आएको बताए ।

'गतवर्ष किसानका लागि कीटनासक औषधि छर्नका लागि केही सहयोग गर्‍यौँ, जसबाट यसवर्ष सुन्तला राम्रो उत्पादन भएको पाएको छु', उनले भने, 'किसानको उत्साह र उत्पादन भएको सुन्तलाबाट राम्रो आम्दानी लिनसक्ने भएकाले वडा नं ४ लाई सुन्तलाको पकेट क्षेत्र बनाउने योजनामा पालिका लागिपरेको छ ।'

पालिकाले सुन्तला पकेट क्षेत्र बनाउने उद्देश्यले चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट सुन्तला प्रवर्द्धन कार्यक्रम लागू हुने गरी रु १० लाख बजेट व्यवस्थापन गरेको उनले बताए । विज्ञ टोलीलाई अनुसन्धान गर्न लगाउने र समस्या समाधान र तथा अझै राम्रो उत्पादनका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर विज्ञको सुझावसहित किसानको मागका आधारमा थप योजना बनाउने क्रममा रहेको उपाध्यक्ष तिमल्सिनाले बताए ।

गाउँपालिकाको भुग्देउको तावरी, गोलगाउँ, सिउरेनी सिमपानी, म्हेदाम्सु, फापरचौर, लड्कुपौवालगायतका ठाउँमा सुन्तला उत्पादन हुने गरेको छ भने वडा नं १ को झिङ्गे, अलकापुरी सुकुमफेदी लगायतका ठाउँमा पनि सुन्तला खेती हुँदै आएको पालिकाले जनाएको छ । 

यहाँ उत्पादन भएका अधिकांश सुन्तला काठमडौँ र केही जनकपुरको बजारसम्म जाने गरेको किसान बताउँछन् । फल पाकेपछि बोटमा नै ठेकेदारले आएर खरिद गर्ने गरेको कारण उत्पादन भएको सुन्तला बिक्री गर्ने चिन्ता नरहेको यहाँका किसानको भनाइ छ । रासस


Author

थप समाचार
x