बागमती

सङ्क्रमित, रसायनयुक्त, हानिकारक ​फोहोर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने

इकागज |
फागुन ८, २०८० मंगलबार १९:७ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले (कामपा) सङ्क्रमित, रसायनयुक्त, हानिकारक फोहोर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने बताएको छ । 

कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापनसम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।  


कामपाको उपप्रमुख सुनिता डङ्गोलका अनुसार सहरी वातावरणमा महसुसयोग्य सुधार गर्नुपर्छ । यस कार्यका फोहोर उत्पादकहरूले दायित्वबोध गरेर नागरिक र कानुनी दायित्व पूरा गरी फोहोरको दिगो रूपमा व्यवस्थापन गर्नुपर्ने छ ।  

सोहीअनुरूप कामपाले पछिल्लो एक सातादेखि अस्पतालजन्य फोहोर व्यवस्थापन विषयमा अनुगमन सुरु गरेका छ । 'अस्पतालजन्य फोहोर अन्य फोहोरभन्दा बढी हानिकारक हुन्छ,' उनले भनिन्, 'यसको सही व्यवस्थापन गर्न आवश्यक छ ।' अस्पतालजन्य फोहोर उत्पादन हुने स्थान, उत्पादित फोहोर सङ्कलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापन संवेदनशील भएर गर्नुपर्छ भनिन् । 

विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फोहोरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादित फोहोरको उचित व्यवस्थापन गर्नका लागि सार्वजनिक सूचनामार्फत पनि अनुरोध गरेको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ ।  साथै स्वास्थ्य संस्थाहरूले चिकित्साजन्य फोहोरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरूलाई दण्ड जरिवाना गराउन पाउने अधिकार पनि स्थानीय सरकारलाई प्रदान गरिदिएको छ । 


Author

थप समाचार
x