बागमती

तरकारी बोक्ने क्रेटको कवाडी कर उठाउँदै ललितपुर महानगर (भिडियोसहित)

इकागज |
चैत ३०, २०८० शुक्रबार १५:२७ बजे

काठमाडौँ - ललितपुर महानगरपालिकाले तरकारी र तरकारी बोक्ने क्रेटको कवाडी कर संकलन गरिरहेको पाइएको छ । ललितपुर महानगरको बालकुमारीमा रहेको कर संकलन केन्द्रबाट तरकारी र तरकारी पुर्‍याएर आएका क्रेटको कर लिएको हो । 

कवाडी निकासी कर संकलन गरिरहेको इन्द्रेणी हार्डवेयर तथा स्यानीटरीवेयरले कालीमाटीबाट लसुन लिएर आएका र तरकारी पुर्‍याएर फर्केकासँग कवाडी कर लिइरहेको व्यापारीले गुनासो गरेका छन् । 


कालीमाटीबाट अदुवा र लसुन लिएर आएका र तरकारी पुर्‍याएर फर्केका क्रेटको कर लिएको एक व्यापारीले गुनासो गरे । 'तरकारी पुर्‍याएर आएको क्रेटलाई कवाडी मानेर कर लिएका छन्', ती व्यापारीले भने, 'तरकारी दिनहुँ ठाउँ-ठाउँमा पुर्‍याउन जानुपर्छ कति कर तिर्ने ?'

उनले एउटा क्रेट बापत २ रुपैयाँ र १३ प्रतिशत भ्याटसहित कर संकलन गरेको जानकारी दिए । 

 'एउटा क्रेटको दुई रुपैयाँको दरले ३७ वटा क्रेटकाे ७४ रुपैयाँ र त्यसमा १३ प्रतिशत भ्याट जोडेर ८३ रुपैयाँ ६२ पैसा तिरेको छु', उनले भने । 

'क्रेटलाई कवाडी देख्ने यो कस्तो राज्य हो', उनले आक्रोशित हुँदै प्रश्न गरे । उनले लसुनमा समेत कवाडी कर लगाएर उठाएको आरोप लगाए । 'कर लिँदा लसुन नै भनेर लेख्नुस् भने', उनले भने, 'लसुनको कर लिन नपाइने हुँदा अन्य शीर्षक राखेर लसुनकाेसमेत कर लिए ।' 

ललितपुर महानगरपालिकाले जनगुनासो आएकाले अबबाट क्रेटकाे कवाडी कर संकलन नगरिने बताएको छ । तर आजपनि क्रेटको कवाडी कर लिन भने छाडिएको छैन ।

भिडियो


Author

थप समाचार
x