बागमती

महालक्ष्मी नगरपालिकाका तीन स्थानमा ट्राफिक लाइट जडान (फोटो/भिडियो)

शुरज थपलिया |
जेठ २७, २०८१ आइतबार १८:३ बजे

फोटो: शुरज थपलिया/इकागज

काठमाडौँ- ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नगरभित्रका तीन वटा स्थानमा ट्राफिक लाइट जडान गरेको छ । बिहीबारबाट यातायात र पैदल यात्रुलाई सहज आवतजावत र दुर्घटना कम गर्न ट्राफिक लाइट जडान गरिएको महालक्ष्मी नगरपालिकाका इन्जिनियर मनिष सुवेदीले जानकारी दिए ।

महालक्ष्मीले ग्वार्को लामाटार सडकखण्डको बाहुनधारा चोक, कृष्ण मन्दिर चोक र साना गाउँ चोकमा ट्राफिक लाइट जडान गरेको हो । ओभरहेड ब्रिज निर्माण गर्नुपर्ने अवस्था भएका स्थानहरूमा लाइट जडान गरिएको सुवेदीले बताए । सडकको दायाँबायाँ घरहरू निर्माण भइसकेकाले तत्काल ओभरहेड ब्रिज निर्माण सम्भव नभएको उनको भनाइ छ ।


बाहुनधारा चोकमा अटोमेटिङ क्रसिङ सिस्टम जडान गरिएको छ । जसलाई 'अन डिमाण्ड पाेलिकल क्रसिङ सिस्टम' पनि भनिन्छ । जहाँ पैदल यात्रुले स्विच थिचेर सडक वार पार गर्न सक्छन् ।

पैदल यात्रीले लाइट थिच्दा सवारी साधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टी हरियो बत्ती बल्ने छ । एकपटक बटन थिचेपछि १५ सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् । त्यसपछि भने १ मिनेट २० सेकेण्ड कुर्नुपर्ने छ । एक पटक बत्ती बलिसकेपछि ८० सेकेण्डसम्म बत्ती बल्ने छैन ।

कृष्णमन्दिर चोकमा दुईवटा ट्राफिक लाइटसहित दुईवटा क्यामेरा राखिएका छन् । जहाँका क्यामेराले सवारीसाधनको नम्बर अटोमेटिङ रिडिङ गर्छन् । दुर्घटना गरेर जाने अथवा ट्राफिक नियम उल्लंघन गरेर जाने सवारी साधनलाई सजिलै समात्न सकियोस् भनेर क्यामेरा लगाइएको इन्जिनियर सुवेदीले जानकारी दिए ।

लाइट जडान भएपछि त्यसलाई व्यवस्थित गर्न र सर्वसाधारणलाई सडक वार पार गर्न सिकाउन नगर प्रहरी, ट्राफिक प्रहरी, स्काउटका स्वयंसेवकहरू खटिएको सुवेदीले बताए ।

नगरपालिकाले यी तीनै स्थानको लाइट राख्न २२ लाख ५० हजार जति खर्च लागेको उनले जानकारी दिए । एक स्थानमा ट्राफिक लाइट जडान गर्न ७ लाख ५० हजार लागेको उनको भनाइ छ ।  

भिडियो:

 


Author

थप समाचार
x