बागमती

सिमलताल पहिरो : बससहित यात्रुको खोजी जारी

इकागज |
साउन ८, २०८१ मंगलबार १०:३३ बजे

फाइल तस्बिर

चितवन- भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुई वटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी  छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शंकास्पद वस्तु देखिएपछि दोहोर्‍याएर खोजतलास गर्न लागिएको हो ।
 
नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शंकास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ । भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उनले शंकास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए ।
 
यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ । प्रजिअ यादवका अनुसार पाल्पाकी नदीमा हामफालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये छजनाको सनाखत हुनसकेको छैन ।
 
चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो ।

आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । सनाखत भएका शवमा १६  पुरुषको छ भने दुईवटा महिलाको छ । त्यस्तै सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच  भारतीय नागरिकका छन् । रासस



Author

थप समाचार
x