पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै
काभ्रेपलाञ्चोक- गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्तरुपमा उक्त कार्य सुरु गरेका हुन् ।
बाढीपहिरोबाट भएको क्षतिको मुल्याङ्कनसँगै सबे किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो । सो क्षेत्रमा हाल खोला र जग्गाको कित्ताको पुनःस्थापना शुरु गरिएको नगरले जनाएको छ ।
नगरप्रमुख रामशरण भण्डारीले व्यक्तिले भागचलन गर्दै आएका जमिनको अवस्थासमेत नहुनेगरी बाढीपहिरोले तहसनहस पारेपछि जमिनको साविक अवस्था पत्ता लगाई एकीन गर्ने कार्यको थालनी गरिएको बताए । “व्यक्तिले आफ्नो जग्गा उपभोग गर्न समस्या निम्तिएपछि जग्गको अवस्था एकीनको विकल्प देखिएन”, उनले भने । उनका अनुसार आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइनेछ ।
पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘ले आउट’ सहितको कार्य प्रारम्भ गरिएको हो । तीन कार्यालयका टोलीले डिजिपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले बताए । उनका अनुसार टोलीले डिजिपिएसका प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ । उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने जनाइएको छ ।
पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । ५ सय ८६ घर पूर्ण तथा ९ सय ४४ घर आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा ११ हजार ६ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया