बागमती

एमालेसँग गठबन्धन गरेपछि राप्रपा नेपालद्वारा उपमेयरसहित वडाध्यक्ष दाबी

सरिता दाहाल |
बैशाख १, २०७९ बिहीबार १८:५० बजे

मकवानपुर -  आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको राप्रपा नेपालले मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयरसहित केही वडाको वडाध्यक्ष दाबी गरेको छ ।

एक साता अघि जिल्ला कमिटी गठन गरेको राप्रपा नेपालले प्रदेश एक मात्रै उपमहानगरपालिकाको उपमेयर सहित शक्तिशाली वडाको वडा अध्यक्षमा दाबी गरेपछि यो बिषयले चर्चा पाएको छ ।

दुबै पार्टीको केन्द्रिय कमिटीबीच गठबन्धनको सहमति भएको थियो । त्यसको भोलिपल्ट आज बिहीबार मकवानपुरका स्थानीय तहमा तालमेल गर्ने विषयमा दुई पार्टीबीच छलफल भएपछि यस्तो दाबि गरिएको हो ।

आज बिहीबार एमाले पार्टी कार्यालयमा भएको छलफलमा उपमहानगरपालिकासहित केही पालिकामा तालमेलको विषयमा छलफल भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।

उपमहानगरको उपमेयरसहित एमालेले हारेका वडाहरुमा आफ्नो दाबी रहने उनले बताए । यद्यपि अहिले नै पदको विषयमा छलफल सुरु नभइसकेको सापकोटाको भनाइ छ । राप्रपा नेपालले हेटौंडा उपमहानगरपालिकाको उपमेयरसहित उपमहानगरको वडा नम्बर ६, १ र १२ सहितका वडा र जिल्लाकै अर्को एक गाउँपालिकामा राप्रपा नेपालले दावी गरेको छ । तालमेलका विषयमा शुक्रबार र शनिबार थप छलफल हुने सापकोटाले बताए ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले राप्रपा नेपालसँग चुनावी तालमेलको कुरा भएको तर सहमति हुन बाँकी रहेको बताए । "अहिले सांगठनिक अवस्थाको बारेमा दुबै पार्टीले तयारी गर्ने र फेरि छलफलमा बस्ने सहमति भएको छ" अध्यक्ष श्रेष्ठले "अहिले पदको बारेमा कुनै टुङ्गो भएको छैन तैपनि सहकार्यको कुरामा माग दाबी रहिहाल्छ, यो स्वभाविक हो ।" छलफलमा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज कृष्णप्रसाद दाहाल, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा सहभागी थिए ।

राप्रपा नेपालको तर्फबाट महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य बालकृष्ण कार्की, दामोदर वाग्ले र जिल्ला अध्यक्ष सापकोटा सहभागी थिए । तत्कालिन राप्रपाले २०७४ को निर्वाचनमा हेटौंडा उपमहानगरमा मेयरमा ७ हजार र उपमेयरमा ७ हजार ४ सय मत पाएको थियो ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सुर्य चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति गरेको राप्रपा नेपालका नेताहरुले आज नेकपा एमालेका नेताहरुसँग औपचारिक भेट गरेका छन् ।

नेकपा एमाले पार्टी कार्यालय हेटौँडामा भएको भेटमा यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुने तालमेलको विषयमा छलफल भएको थियो । बैठकमा जिल्लामा गठबन्धनलाई बलियो र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो । गठबन्धनको निष्कर्षमा पुग्नका निमित्त तथ्यसंगत ढंगबाट छलफल थप अगाडी बढाउने दुवै पार्टीका प्रतिनिधिबीच सहमती भएको छ ।

बैठकमा एमाले मकवानपुरका सह–इञ्चार्ज एवम् प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहाल, केन्द्रिय सदस्य एवम् प्रदेशसभा सांसद जुनेली श्रेष्ठ, अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा सहभागी थिए । यसैगरी राप्रपा नेपालका तर्फबाट महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्य बालकृष्ण कार्की, मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटा, मकवानपुर १ (ख) का अध्यक्ष दामोदर वाग्ले लगायतको सहभागी रहेका थियो ।



Author

थप समाचार
x