बागमती

गठबन्धनले जन्मायो विवाद

सरिता दाहाल |
बैशाख ९, २०७९ शुक्रबार १६:३६ बजे

मकवानपुर– आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराउने दिन अब २ दिन मात्रै बाँकी छ । ११ र १२ वैशाखमा दलहरुले आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता गराउनै पर्दछ । 

तर, मकवानपुरमा सत्ताधारी ५ दलीय गठबन्धनभित्र भएको सहमतिले पार्टीभित्र विवाद जन्माएको छ। गठबन्धनमा भएको सहमतिका कारण पार्टीभित्रको अन्तरद्वन्द्व यतिबेला छरपष्ट भएको छ । सत्तासाझेदार दलहरूलाई स्थानीय तहको निर्वाचनमा भागबण्डा मिलाउन निकै सकस खेप्नु परेको छ भने गठबन्धनमा सहभागी दलहरुले नै एकापसमा पार्टीको सांगठनिक अवस्थालाई कमजोर आँक्न थालेका छन् । यसले गर्दा फरक पार्टीबीचमासमेत दुस्मनी सुरु भएको छ।


उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएपनि दलहरुका बीचमा कुरा मिल्न सकेको छैन । केन्द्रमा सत्ता गठबन्धन दलहरुका बीचमा हेटौंडा उपमहानगरपालिकाको मेयर एकिकृत समाजवादीले प्राप्त गर्ने निर्णय भए पनि जिल्लामा उक्त निर्णय नमान्ने भन्दै गठबन्धनको सबैभन्दा ठूलो पार्टी काँग्रेसले दिनमै २÷३ वटा पत्रकार सम्मेलन गर्दै आएको छ ।

निर्णय सच्याउन माग गर्दै नेपाली काँग्रेस मकवानपुर जिल्ला उपसभापति आनन्द कठायतसहित बहुमत पदाधिकारीले माग गरेका छन् । पार्टीको सांगठनिक हैसियतलाई भुल्दै सानो दलसँग झुकेर हेटौंडाको मेयर पद छोडेको कार्यकर्ताको आरोप छ ।

यता नेकपा एकीकृत समाजवादीले पनि आफ्नो हैसियत अनुसारको सम्मानजनक भाग नआएको भन्दै गाउँपालिकाहरुमा एकल चुनाव लड्ने तयारी गरेको छ। नेकपा माओवादी र एकिकृत समाजवादीले पनि कांग्रेसले मकवानपुर जिल्लाका अरु स्थानीय तहमा प्राप्त गर्ने भनिएको अध्यक्ष पद नदिने र आफै चुनाव लड्ने चेतावनी दिएका छन् । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी, राक्सिराङ, कैलासलगायतका क्षेत्रमा पनि माओवादी र समाजवादीले आफ्ना उमेदवार उठाउने र काँग्रेससँग प्रतिस्पर्धा गर्ने एकिकृत समाजवादीले तयारी गरेको छ । 

समाजवादीले जिल्लाको २ वटा पालिकामा आफ्नो एकल उम्मेदवारी सिफारिस समेत गरिसकेको छ । 

यसअघि दिनहुँ बैठक बसिरहेको भएपनि २ दिन यता गठबन्धन दलहरुका बीचमा औपचारिक बैठक समेत बस्न सकेको छैन । कांग्रेस मकवानपुरका नेताहरु केन्द्रमा गएर हेटौंडाको मेयर कुनैपनि हालतमा कांग्रेसले पाउनुपर्ने भन्दै दबाब दिईरहेका छन् ।

गठबन्धन दलहरुका बीचमा पटक–पटक सहमतिका लागि बैठक बसेपनि कुनै प्रगति नभएका कारण कांग्रेसको आवश्यकतामा बैठक नबस्ने र सत्तासाझेदार अन्य दलको समन्वयमा भने बैठक बस्ने बताइरहेको छ । भागबण्डा मिलाउन यसअघि बसेको गठबन्धनको बैठकमा माओवादी केन्द्रले वडा तहमै करिब ५० प्रतिशत भाग माग्दा सहमति जुट्न नसकेको हो। 

यता एकिकृत समाजवादीले पनि आफ्ना मागहरुमा अडिग रहेको छ । जिल्लामा ठूलो दलको हैसियतले गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेस र एकीकृत समाजवादीले लचकता अपनाएर बैठकमा आ–आफ्नो दाबी प्रस्तुत गर्दासमेत माओवादी केन्द्रले वडा तहमा एक्लै करिब ५० प्रतिशत पाउनुपर्ने माग गरेको एकीकृत समाजवादी प्रचार विभागका एक नेताले भने ।

माओवादी केन्द्रले गठबन्धनको केन्द्रीय स्तरबाट बनाइएको मापदण्ड अनुसार आफूले पाउने पालिकाबाहेक मकवानपुरमा थप ३ वटा पालिका दाबी गरेको उनले बताए । केन्द्रीय तहले निर्धारण गरेको आधार र मापदण्ड अनुसार मकवानपुरको २ वटा पालिकामा माओवादी केन्द्रले स्वतः नेतृत्व पाउनुपर्ने र अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेको पालिकामा पनि आफूले नै नेतृत्व पाउनुपर्ने माओवादीको दावी छ ।

पार्टीभित्र कार्यकर्ताको असन्तुष्टिलाई सम्बोधन गर्दा गठबन्धनमा सहमति नहुने र गठबन्धनको सहमतिले कार्यकर्ता रुष्ट हुने क्रम बढेपछि मकवानपुरमा गठबन्धनको प्रभावकारिता खासै नदेखिने भएको छ । “जबरजस्त लादिएको निर्णयले निर्वाचन नतिजामा अपेक्षित सफलता हात लाग्दैन” नेकपा मओवादीका एक नेताले भने “आज पार्टीको निर्णय चित्त नबुझेकाहरुबाटै भोलि गठबन्धनलाई घात नहोला भन्न सकिन्न ।”
 


Author

थप समाचार
x