बागमती

नगर र उपमहानगरमा ५ गुणा बढी उम्मेदवार

सरिता दाहाल |
बैशाख १३, २०७९ मंगलबार १९:२३ बजे

मकवानपुर - आसन्न स्थानीय तह निर्वाचन -२०७९ को लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा ५ गुणाबढी उम्मेदवारी दर्ता भएको छ।

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा आवश्यक ९७ पदमा ४ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो ४ दशमलव ५ गुणा बढी हो । यसैगरी मकवानपुरको थाहा नगरपालिकामा पनि ५ गुणा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उल्लेख्य रूपमा उम्मेदवारी दर्ता गराईएको हो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ताको बिवरण मंगलबार अबेर मात्रै सार्वजनिक गरिएको थियो । 

हेटौंडाको मेयरमा २१ जना, उपमेयरमा ११ जना र १९ वटा वडाका अध्यक्षका १ सय ११ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको उम्मेदवारीबापत २ लाख ६० हजार पाँचसय रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

हेटौंडाको मेयरमा विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र तर्फबाट ९ जना गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका लागि आइतबार ७ जनाले र सोमबार १४ जनाले मनोनयन दर्ता गराएका थिए ।

उपमेयरमा ९ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

यता मकवानपुर थाहा नगरपालिकामा ६२ पदका लागि २ सय ४४ जनाको मनोनयन दर्ता भएको छ ।

थाहा नगरपालिकाको प्रमुख पदमा ६ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा २ जनाको मात्र उमेद्वारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रसहित १२ जना वडा अध्यक्ष पदका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् । यो संख्या आवश्यक भन्दा करिब ५ गुणा बढी हो ।

वडा अध्यक्ष पदमा ४ जनाको  स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर ३, ४, ८ र ९ मा १/१ जनाले अध्यक्ष पदमा उम्मेवारी दर्ता गराएका हुन् । थाहानगरका १२ वडा सदस्यका लागि १२ पदमा ४६ जनाको उमेद्वारी छ । त्यस्तै १२ दलित महिला सदस्यका लागि ३८ जनाको र २४ जना वडा सदस्य पदका लागि १ सय ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

राजनीतिक चेत र सशक्तीकरणको कारण उम्मेदवारी हुनेको चासो बढेको हुनसक्ने मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताए । दाबी बिरोध तथा उम्मेदवारी फिर्ता लिने म्यादसम्ममा यो संख्या घट्नसक्ने उनलेे बताए ।



Author

थप समाचार
x