बागमती

सिन्धुपाल्चोकको सिन्धुकोटमा विवाद हुँदा प्रहरीले गर्‍यो हवाइ फायर

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १९:१ बजे

काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५ सिन्धुकोटमा मतदाताले मत हाल्न नपाएपछि भएको विवाद नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । 

काठमाडौँबाट आज मत हाल्न आएका नयाँ मतदाताले मतदाता परिचयपत्र वितरण नगरेको र नागरिकताको फोटोकपीबाट मत दिन आग्रह गरेपछि भएको विवाद रोक्न प्रहरीले हवाइ फायर गरेको हो । 


सिन्धुकोटका स्थानीय सन्तोष सिग्देलले प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको जानकारी दिए । प्रहरीले भने एक राउण्ड मात्रै हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरीले हवाइ फायर गरेपछि त्यहाँको अवस्था तनावपूर्ण भएको छ ।

३० जना जति नयाँ मतदाताको मतदाता परिचयपत्र वितरण गर्न नमानेपछि उनीहरु मत दिनबाट वञ्चित हुने भएपछि विवाद भएको थियो । उनीहरुले परिचय पत्र वितरण गरेर मत दिन आग्रह गरेपनि मतदान अधिकृत राजेन्द्र श्रेष्ठले मानेका छैनन् । उनीहरुले सर्वदलीय बैठक बसेर मत दिन दिने कि नदिने निर्णय गर्न दबाब दिएपनि मतदान अधिकृत श्रेष्ठले बैठक गर्न मानेका छैनन् । 

निर्वाचन आयोगले वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण गर्ने बताएको थियो । 


 


Author

थप समाचार
x