गण्डकी

रूप फेर्ने नाममा कुरूप बन्‍यो पोखराको न्युरोड

महिनौंदेखि अस्तव्यस्त सडक र सहर

धनबहादुर गुरुङ |
माघ १८, २०७९ बुधबार १२:१७ बजे

पोखरा - पोखराको व्यस्त सडकहरू मध्येमा पर्छ, पोखरा सभागृहचोकदेखि विपिचोकसम्मको सडक । यसको दुरी १ हजार ५ सय मिटर छ । तुलनात्मक रूपमा पोखराको अन्य सडकभन्दा फराकिलो भएकाले पनि सवारीको चाप बढी हुन्छ । अनि यात्रुको ओहोरदोहोर पनि धेरै नै हुन्छ । 

चाक्लो सडकमा चालकहरूले लेनको ख्याल नै नगरी ओभरटेक र सवारी क्रस गर्न भ्याउँछन् । जसले गर्दा साना तथा ठूला सवारी दुर्घटना बढिरहेको छ । यो सडकमा हुने दुर्घटनाबाट ट्राफिक प्रहरी हैरानीमा थियो । यसको समाधान खोज्न ट्राफिक प्रहरी महानगरसम्म पुगेको थियो ।


ट्राफिक व्यवस्थामा ध्यान दिन महानगरले डिभाडर बनाएर बिचमा फूल रोप्ने योजना अघि सार्‍यो । त्यही डिभाइडरसँगै सडक बत्ती राख्ने काम पनि अघि बढाएको छ । सोही अनुसार पोखरा महानगरले डिभाईडर राख्ने काम सुरु गरिसकेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । करिब ३ महिनामा सक्ने गरी सभागृहचोकदेखि विपिचोकसम्म गार्डेनिङसहितको डिभाईरमा सडक बत्ती राख्ने काम सुरु गरेको उनले बताए । ‘बिचमा डिभाईडर हुन्छ । त्यसमा हाम्रो नारा अनुसार ब्युटिफिकेसनको काम हुन्छ । अनि त्यही सडकबत्ती जडान हुनेछ,’ उनले भने ।

तर, सुन्दरता र सडक दुर्घटना न्यूनिकरणका लागि भइरहेको काम ढिला हुँदा उल्टै सहर अस्तव्यस्त बनेको छ । रूप फेर्ने योजना ढिला हुँदा न्यूरोड क्षेत्रमा दुर्घटनाको जोखिम बढिरहेको छ । यहाँ सडक बत्ती र डिभाइडरको काम छुट्टाछुट्टै कम्पनीले गरिहेको छ । जसमा सडक बत्तीको ठेक्का पाएको कम्पनीले काम लगभग सकिसकेको छ । डिभाईडर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले आधा काम पनि गरेको छैन ।

१.५ किलोमिटरको बाटोमा डिभाइडर बनाउँन महिनौं लाग्दा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोको सास्ती भोग्नुपरेको न्यूरोडका रमेश ठकुरीले बताए । ‘मंसिरबाट काम सुरु गरेको हो त्यति विपीचोकसम्म गर्ने काम अहिलेसम्म आधा पनि बनाएको छैन्,’ उनले भने, ‘यो बाटो दिनदिनै हिड्नपर्छ बाटोभरी के के हो के सामान छ धुलो उस्तै । बिच भागमा काम गरिरहको छ । धन्न दुर्घटना भएको छैन् ।’

पोखरा महानगरका ईन्जिनियर सुरेन्द्रले पौडेलले पिच सडकमा मिलाएर कटिङ गर्नुपर्ने कारण पनि ढिला भएको हुन सक्ने बताए । सडक दुर्घटनाबाट बचाउनका लागि पनि धुलो नहटाएको उनको जवाफ थियो । तर, निर्माण कम्पनीलाई डोरी वा ट्राफिक कोन राखेर काम गर्न लगाएको इन्जिनियर पौडेलले बताए । ‘सोलार जोड्दाको धुलो त हटाएका छौं तर, सबै क्लियर गर्दा गाडीहरू खाल्टामा गएर झन ठूलो दुर्घटना हुने हो कि भनेर सबै हटाउन नमिलेको हो,’ उनले भने, ‘खाल्टामा पस्नबाट जोगाउनका लागि अब माटो र धुलो हटाएर डोरी वा ट्राफिक कोन राख्न लगाएका छौं ।’

यो आयोजनाका लागि बैशाखको ३० गतेसम्म म्याद भएको उनले जानकारी दिए । ‘खरिद नियमावली अनुसार उनीहरूले पाउने म्याद बैशाख ३० गतेसम्म हो,’ उनले भने, ‘तर काम ढिला भयो भनेर हामीले ताकेता गरेका गर्‍यै छौं । काम त स्पिड मै गरिरहेको छ ।’ 


Author

थप समाचार
x