गण्डकी

पोखरामा कांग्रेसको रुपान्तरण अभियान : ‘पार्टीले प्रष्ट विचार प्रवाह गर्न नसक्दा नयाँ दलहरुले ‘स्पेस’ पाए’

इकागज |
जेठ २१, २०८० आइतवार १३:९ बजे

पोखरा । पोखराको सभागृह हल नेपाली कांग्रेसका कार्यकर्ताहरुले भरिभराउ थियो । हलमा गण्डकी प्रदेशका ९ जिल्लाका कांग्रेसीहरु भेला भएका थिए । गण्डकीको मनाङ र मुस्ताङवाहेकका कांग्रेसीहरु ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’ का लागि पोखरा आएका थिए । जिल्ला–जिल्लाबाट आएका सहभागीमध्येबाट नाम संकलन गरी अभियानका बारेमा सुझाव संकलन गरिएको थियो । 

भेलामा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका बारेमा बुँदागत रुपमा सुझाव लिएर टिपोट गरिएको अभियानको गण्डकी संयोजक देवराज चालिसेले बताए । संस्थापन इतरका नेताहरुको बढि सहभागिता देखिएको भेलामा कांग्रेस अब सच्चिन जरुरी रहेको आवाज उठेको थियो । सहभागी वक्ताहरुले पार्टीले प्रष्ट विचार प्रवाह गर्न नसक्दा नयाँ दलहरुले ‘स्पेस’ पाएको भन्दै यसका लागि नेतृत्व सच्चिन जरुरी रहेको भनाइ राखेका थिए । नेताका आफन्त र आसेपासेले मात्र अवसरमा पाउने गरेकोप्रति इंगित गर्दै उनीहरुले योग्यता, क्षमता र योगदानका आधारमा पार्टीले मूल्यांकन गर्न सुझाव दिए । नेतृत्व बदलिन तयार नभए कार्यकर्ताहरु नेतृत्व बदल्न वाध्य हुने चेतावनी उनीहरुको थियो । 


कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरु घिमिरेले पार्टीमा विचारको पुनव्र्याख्या र संगठन पुनर्गठन जरुरी रहेको बताए । नेतृत्वको अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक अधोगतितिर गइरहेको भन्दै उनले नेतामा नेतृत्व मात्र होइन, विकास गर्ने इच्छाशक्ति पनि आवश्यक पर्ने बताए । उनले भने, ‘हामीले निदाएको बहाना गरेको नेतृत्वपंक्तिलाई पानी छम्केको हो, यो अभियानलाई नजरअन्दाज गरियो भने नतिजा खतरनाक आउँछ भन्ने पनि बुझिराख्नुस् ।’ 

अभियानका गण्डकी संयोजक देवराज चालिसेले पार्टीले लिएको यथास्थितिको नीति र थितिबाट पार्टी र मुलुक अगाडि बढ्न नसक्ने भनाइ राखे । सत्तामा पुग्नकै लागि पार्टीको सिद्धान्तलाई बेच्ने काम भएको उनको भनाई थियो । भ्रष्टाचार राष्ट्रिय रोग रहेको भन्दै नेता चालिसेले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नै मानव तस्करीका आरोपित छन्, डामिएका व्यक्तिले नेतृत्व गरेको आयोगबाट केही हुँदैन, भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र र शक्तिशाली संयन्त्र चाहिन्छ ।

अहिले पार्टी चलिरहेको अवस्थाबाट कार्यकर्ता तहमा उत्साह नछाएकाले चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान जरुरी रहेको कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले बताए । नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नका लागि मात्र अभियान थालेको नभइ संगठन जोगाएर पार्टीको शाखलाई अझै माथि पु¥याउने प्रयास आफूहरुको रहेको उनको प्रष्टोक्ति थियो । नेतृत्वका लागि यो खबरदारी हो भन्दै उनले भने, ‘आफै सच्चिए राम्रो, नत्र विधान अनुसार नै अविश्वास ल्याउने वा विशेष महाधिवेशन बोलाउने काम पनि हुन्छ ।’

कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापा, नेताहरु भोजराज अर्याल, भेषबहादुर पौडेल, कृष्ण केसी, वैकुन्ठ न्यौपाने, विष्णुदेवी पाण्डे, रघुनाथ पौडेल, खगेन्द्रराज रेग्मी, वसन्त सिके, हरिप्रसाद श्रेष्ठ, केबी भण्डारी, नारायणमणि लामिछाने, नविन श्रेष्ठले सुझाव दिएका थिए ।

जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष नवराज सिवाकोटी, गाउँ पालिका महासंघ नेपाल अध्यक्ष लक्ष्मी पाण्डे, विद्यार्थी नेता निर्दोषविक्रम पौडेल, कृष्ण पोखरेल, भरत लम्साल, जगदीश उपाध्याय, सीता काफ्ले, भरत रखाल, चूडा खनाल, चन्द्रबहादुर राना, गोकुल सापकोटा लगायतले कांग्रेस जोगाउन नेतृत्व सच्चिनुपर्ने भनाइ राखेका थिए ।


Author

थप समाचार
x