गण्डकी

बजेटका लागि सुझाव संकलन गर्न काठमाडौँमा अन्तर्क्रिया

इकागज |
जेठ २१, २०८० आइतबार १९:५३ बजे

काठमाडौं - गोरखाको गण्डकी गाउँपालिकाले आगामी बजेटका लागि सल्लाह सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । 

आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन कसरी गर्ने र पालिकाको विकास समृद्धिमा पालीकाबासीहरूको भूमिकालाई कसरी समेट्ने भन्ने बारेमा शनिबार छलफल भएको हो । साथै अन्य संघ सस्थाहरूसँग कस्तो सहकार्य गर्न सकिन्छ भन्ने उद्देश्यका लागि गण्डकी गाउँपालिका गोरखाले काठमाडौँमा वृहत् अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरेको पालिकाले जनाएको छ। 


कार्यक्रमको उद्घघाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पालिकाले काठमाडौंमै आएर संघ सस्था तथा पालिकाबासीहरूसँग सल्लाह सुझाव तथा अन्तरक्रिया गरेकोमा पालिकाको प्रशंसा गर्दै कार्यक्रमबाट आएका सुझावहरूको उचित कार्यन्वयन गर्नसमेत पालिकालाई आग्रह गरे।

उनले जनप्रतिनिधिहरूको ध्यान बजेटमा मात्रै केन्द्रित भएकोमा असन्तुष्ठि व्यक्त गरे। स्थानीय सरकारको ध्यान निरन्तरताभन्दा पनि क्रम भंगतातिर जानुपर्ने उनले बताए। स्थानीय सरकारले अब बजेट विनियोजन गर्दा मेघा प्रोजेक्टमा लगानी गर्नुपर्नेमा धितालले जोड दिए। 

बढ्दै  गएको बसाइँसराइलाई रोक्ने गरी नीति तथा बजेट आउनुपर्ने उनको भनाइ थियो। पालिका भित्र भएको प्राकृतिक स्रोतहरूको उचित व्यवस्थापन र बजारीकरण गरी त्यसबाट लाभ लिन सकिने गरी कार्यक्रमहरू अघि सार्न  धितालले सुझाव दिएका छन्।

राष्ट्रिय सभा सदस्य कमला पन्तले उपयुक्त समयमा कार्यक्रम राखेकोमा धन्यवाद दिइन्। पन्तले आगामी दिनहरूमा यो कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरिन्। पन्तले स्थानीय सरकारको पालिकाभित्र उत्पादन भएका वस्तुहरूको बजारीकरणमा ध्यान दिए उत्पादनमा वृद्धि हुने जिकिर गर्दै पालिकाको अबको त्यसतर्फ ध्यान जानुपर्ने बताइन्।

उनले भनिन्, ‘अहिले सिङ्गो मुलुकमा चुनौती भनेको ग्रामीण क्षेत्रबाट हुने गरेको बसाइँसराइ हो। यसलाई रोक्न स्थानीय सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुपर्छ। साथै पर्यटन गोरखाको आर्थिक समृद्धिको मेरुदण्ड भएको र पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारमा समेत ध्यान दिनुपर्ने आएको आवश्यकता भएको छ।’

उनले नीति कार्यक्रम तथा बजेट निर्माण गर्दा पार्टीभन्दा माथि उठेर जनताको आवश्यकताहरूलाई प्राथमिकतामा राख्ने तर्फ ध्यान दिन जनप्रतिनिधिहरूलाई सुझाव दिँदै अब पालिकालाई सामुदायिक खेतीतर्फ लगानी बढाउन पनि आग्रह गरिन्।

 प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाँईले नेपालमा सबैभन्दा ठुलो चुनौती भनेको स्थानीय उत्पादनको बजारीकरण र आयात प्रतिस्थापन गर्नु रहेको बताए। गाउँघरमा बढ्दै गएको बसाईसराई रोक्नु स्थानीयसरकारहरूको चुनौती रहेको समेत उनले बताए। 

कार्यक्रमका सभापति तथा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले गाउँपालिकाले पालिकाको समग्र विकासमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको र कार्यक्रमबाट आएको सल्लाह सुझावलाई  गम्भीरताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता  व्यक्त गरे।

उनले भने( ‘पालिकाले पुर्वाधार विकास र सामाजिक विकास तथा कृषिको विकासलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको छ।’ 

उनले यसलाई गाउँसभाको रुपमा बुझ्न् समेत आग्रह गरे। पालिकालाई एउटा सुन्दर पालिकाको रुपमा विकास गर्ने सम्पुर्ण जनप्रतिनिधिहरूको ध्यान केन्द्रित रहेको उनले बताए। कार्यक्रमबाट आएको महत्त्वपूर्ण सल्लाह सुझावहरू पालिकाले आत्मसात गरेर अधि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै पालिकाकी उपाध्यक्ष ललिता अधिकारीले पालिकाको समृद्धिका लागि सम्पुर्ण जनप्रतिनिधिहरूको ध्यान केन्द्रीय रहेको निर्वाचित भएको एक वर्षभित्रमा अपेक्षाकृति कामहरू गरिएको र यो कार्यक्रमले पालिकको समृद्धिका लागि कोशे ढुंगा सावित हुने बताइन।

कार्यक्रममा विविध संघ संस्थाहरूले पालिकाभित्र संचालन गर्न सकिने शैक्षिक, पुर्वाधार, सामाजिक विकास, पर्यटन पुर्वाधार कृषिको उत्पादन तथा बजारीकरण लगायतका कार्यक्रम तथा योजनाहरू प्रस्तुत गरिएको थियो।
 


Author

थप समाचार
x