गण्डकी

बाघ मारेपछि सकियो बाघजात्रा (फोटो फिचर)

धनबहादुर गुरुङ |
भदौ २०, २०८० बुधबार २१:५७ बजे

पोखरा - खेलकुदका कार्यक्रमले भरिभराउ हुने पोखरा रंगशालामा बुधबार छुट्टै रौनक थियो । नेवारी पोशाकमा सजिएकाहरुले रंगशालाको पश्चिमी भेग भरिभराउ थियो । उनीहरुको बाक्लो उपस्थिति हुनु स्वभाविक नै थियो । किनभने बुधबार नेवार समुदायले मनाउने बाघ जात्राको अन्तिम दिन थियो । रंगशालामा जात्राको समापन गर्ने निर्णय भए अनुसार बाघ मारेको हेर्न उनीहरु जम्मा भएका थिए ।


१८ गतेदेखि नगर परिक्रमा गर्दै पोखरा जात्राको टोली बुधबार करिब ५ बजेतिर रंगशाला पुग्यो । जात्रामा राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरु, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरु) र प्रजा लगायत अन्यपात्र समावेश थिए । केही समय औपचारिक कार्यक्रम भयो । ६ बजेतिर यमराजको प्रहसन सुरु भयो ।

यमराजको प्रहसन सकिएलगत्तै बाघको पुनः खोजी सुरु भयो । खिन बाजा र झ्यालीको ताल बजेपछि बाघ देखा पर्‍यो । त्यो नजर राजाकोमा पर्‍यो । राजाले मन्त्रीलाई बाघ मार्ने अनुमति दिए । राजाको अनुमति मन्त्रीले ढेकेग्वारा (जंगली सिकारी) हरुलाई सुनाउँछन् । अनि बाजाको तालसँगै ढेकेग्वाराहरुले बाघलाई घेलीघेली मार्छन् । अनि अबिरजात्रा हुन्छ । यसरी पोखरामा ३ दिनसम्म चलेको बाघजात्राको अन्त्य हुन्छ ।

पोखरामा यो जात्रा २३ वर्षपछि भएको हो । पछिल्लो समय २०५७ सालमा मोहरियाटोलमा यो जात्रा प्रदर्शनपछि रोकिएको थियो । त्यसपछि पोखरामा पुनः जात्रा देखाइएको बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए । ३ दिनसम्म मौसमले साथ दिएकाले भव्य रुपमा सम्पन्न भएको उनले सुनाए । उनका अनुसार जात्राहरुको पनि जात्रा बाघजात्रा जोगाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो । उनका अनुसार पहिलो दिन १८ गते नेवा छें हुदैं मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवाः छेमा पुगेको थियो । दोस्रो दिन १९ गते नेवा छे हुदैं गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदैं नेवा छेमा पुगेर सकिएको थियो । अन्तिम दिन २० गते मुख्य समापन समारोहका लागि नेवाः छे हुँदैं भिमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदैं रंगशाला पुगेको उनले सुनाए । 

२३ वर्षपछि भएको बाघजात्रा भव्य सफल भएपनि केही कमजोरी र चुनौति रहेको आयोजक समितिका सचिव सुनिल उलकले जानकारी दिए । ‘कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । तर केही कमजोरी र चुनौती अवश्य रहे,’ उनले भने, ‘२३ वर्ष अघि जति उपस्थिति थियो त्यती हुन सकेन् । यसमा पोखरामा रहेका कतिपय संघसंस्थाहरुमा पत्र नपुगेको भन्ने आयो । आगामी दिनमा यसलाई सुधार्नुपर्छ ।’

अघिल्ला वर्षहरुमा नेवार समुदायमा मात्र सिमित यो जात्रा अहिलेदेखि अन्य समुदायले पनि सहभागिता जनाउनु राम्रो पाटो रहेको सचिव उलकले बताए । ‘कुनै पनि हामी नेपालीहरुको संस्कृति एक जातिले अर्को जातिले अंगाल्न सक्नुपर्छ,’ उनले भने, ‘हामीलाई अहिले मुस्ताङी समुदाय, मगर समुदायले साथ दिनुभयो । हामीले अरुलाई पनि पत्राचार गरेका थियौं । उहाँहरुको आफ्नै समस्या रह्यो होला ।’ यसबाहेक भक्तपुरको घिन्ताघिसी (५० जनाको समुह) ले विभिन्न साँस्कृतिक नृत्यहरु प्रदर्शन गरेको उनले सुनाए । 

 


 


Author

थप समाचार
x