गण्डकी

गण्डकीका मन्त्रीको सम्पत्ति

मुख्यमन्त्रीसँग जग्गैजग्गा, भौतिकमन्त्रीको स्काभेटर र ट्र्याक्टर

धनबहादुर गुरुङ |
असोज ५, २०८० शुक्रबार २१:३२ बजे

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कार्यभार सम्हाले । उनको नियुक्ति भने अघिल्लो दिन नै भइसकेको थियो । उनले वैशाख २९ गते मन्त्री मण्डल विस्तार गरे । नियुक्त भएका मुख्यमन्त्रीदेखि मन्त्रीहरूले ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान थियो । तर, समय काट्दासम्म उनीहरूको सम्पत्ति सार्वजनिक भएका थिएन । आर्थिक वर्षको अन्त्यमा नियुक्त भएकोले नयाँ आर्थिक वर्षसँगै सम्पत्ति विवरण सार्वजनिक गरेको उनीहरूले जनाएका छन् ।

६० दिने प्रावधान कटेपछि गण्डकी प्रदेशका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनीहरूले सार्वजनिक गरेको विवरण अनुसार कसैसँग निजी वन छ भने घर जग्गा र सुनचाँदी प्रशस्त छन् । कसैसँगको सम्पत्तिको नाममा बन्दुक पनि रहेको उल्लेख छ । 


गोरखा पालुङटार नगरपालिका स्थायी घर भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका विभिन्न ठाउँमा घर र जग्गा छन् । उनले गोरखाको पालुङटारमा ५ रोपनी १० आना जग्गा र घरसहित काठमाडौं ३ नम्बर वडामा २ सय १२ वर्ग मिटरमा घर देखाएका छन् । पालुङटारमा करिब ३६ रोपनी जग्गा छ । कपिलवस्तुमा साढे ५ कठ्ठा जग्गा देखाएका छन् भने भक्तपुरको सूर्यविनायक नगरपालिका ७ मा करिब १० रोपनी जग्गा देखाएका छन् । सबै जग्गा र घरहरू पैतृक रहेको उनको विवरणमा उल्लेख छ । भक्तपुरको जग्गा भने मोहीबाट कमोद भएको सगोलको जग्गा हो ।

छोरा सुयोग्यराज पाण्डेको नाममा ग्लोबल आइएमई, एसबिआई र प्रभु बैंकमा १ लाख ५६ हजार नगद छ । पाण्डेले दियालो फुडल्यान्डमा ६१ हजार १ सय कित्ता र बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता सेयर देखाएका छन् । पत्नी बिनाको नाममा ५ हजार कित्ता, छोरा सुयोग्यराजको नाममा ४ हजार कित्ता सेयर छ । मुख्यमन्त्री पाण्डेले राष्ट्रिय वाणिज्य बैंकबाट २३ लाख ऋण लिएका छन् । उनले ४२ तोला सुन, ५ सय तोला चाँदी, २ सेट हिरा र १ सेट मोती सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सुनचाँदी भने केही पैतृक र अन्य जग्गा बिक्री तथा तलब बाट खरिद गरेको जनाएका छन् ।

पाण्डेको एभरेस्ट बैंक, नबिल बैंक, एसबिआई बैंक र कृषि विकास बैंकमा २४ लाख ९६ हजार नगद छ । व्यवसाय, तलब र जग्गा बिक्रीबाट उक्त रकम जम्मा गरिएको विवरणमा देखिएको छ । उनकी पत्नी बिना पाण्डेको नाममा प्रभु बैंकमा ६० लाख र ग्लोबल आइएमई बैंकमा २ लाख ५२ हजार मुद्दती खातामा जम्मा भएको छ । उक्त रकम तलब, उपदान र जग्गा बिक्रीबाट प्राप्त भएको पाण्डेले बताए । पत्नी बिना पाण्डेको नाममा ३२ लाख पर्ने मारुती कार छ । २ वटा टिभी, २ वटा फ्रिज, एउटा वासिङ मेसिन, एउटा डिसवासर, माइक्रो ओभन, ल्यापटप पनि सम्पत्तिका रूपमा पाण्डेले देखाएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीको पैतृक जग्गा धेरै छ । म्याग्दीको मालिका ७ मा ११ आनाभित्र बनेको एक तले ५ कोठाको घर छ । सोही ठाउँमा २ रोपनी १० आना जग्गासहित २ तलाको घर छ । उनको नाममा ७ रोपनी र बाबु खड्कबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा देखाएका छन् । सबै जग्गा र घर पैतृक हो ।

उनीसँग महिन्द्राको ट्रयाक्टर र मोटर साइकल पनि छ । उनको मुख्य आम्दानी सुन्तला बगैँचाबाट हुन्छ । वार्षिक ५ लाख आम्दानी सुन्तला बेचेर गर्ने जुग्जालीले बताए । उनले सह लगानीमा स्काभेटर पनि खरिद गरेका छन् । उनले ७ तोला सुन विवरणमा भरेका छन् । जुग्जालीसँग गरिमा विकास बैंकमा ५ लाख ४० हजार र प्रभु बैंकमा ५० हजार नगद छ । उक्त रकम व्यवसाय र तलबबाट प्राप्त भएको हो ।

उनले ऋण गरेर हाइड्रोपावरमा २५ लाखको सेयर किनेका छन् । परिचय नेपाल सहकारीमा ४ लाख र मितेरी बचत तथा ऋण सहकारीमा १ लाखको सेयर किनेका छन् । जुग्जालीले गरिमा विकास बैंकबाट ४० लाख ऋण लिएका छन् भने विभिन्न व्यक्तिहरूबाट २० लाख ऋण लिएको उल्लेख गरेका छन् ।

सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडासँग पनि जग्गा धेरै देखिएको छ । गैंडाकोट नगरपालिका २ मा करिब १३ रोपनी जग्गा छ भने उनैको नाममा ललितपुरमा सवा रोपनी जग्गा छ । दुवै ठाउँका जग्गा व्यवसायबाट खरिद गरेको उनले जनाएकी छिन् । दाजु विष्णु सिंखडाको नाममा गोरखामा पुर्ख्यौली घर छ । उनका पति जनक बुढाको नाममा जुम्लास्थित तातोपानीमा १९ रोपनी जग्गा छ । उक्त जग्गा जनकले पैतृक रूपमा प्राप्त गरेका हुन् । उनले आफूसँग सुन, चाँदी लगायत गरगहना नभएको बताएकी छन् ।

विभिन्न बैंकहरूमा १ लाख ७० हजार नगद छ । विभिन्न कम्पनीहरूमा आइपिओ मार्फत १ लाख हाराहारीको सेयर छ । उनले २ जनालाई ६ लाख ७५ हजार ऋण दिएको देखाएकी छिन् । जनक बुढाको नाममा एउटा स्कुटर छ भने २६ हजारको मोबाइल र ७ हजारको घडी छ । कृषि तथा पशुपालन नगरेकाले कुनै विवरण उल्लेख गरिएको छैन । 

अर्थमन्त्री जीतप्रकाश आलेसँग निजी वनसँगै बन्दुक समेत सम्पत्तिका रूपमा रहेको छ । भीमाद नगरपालिका ६ मा डेढ रोपनी जग्गाभित्र घर छ । भिमादमै २५ वटा कित्तामा करिब १८ रोपनी जग्गा छ । तनहुँकै साविक भगवतीपुरमा १२ रोपनी हाराहारी जग्गा छ । २१ तोला सुन र २७ तोला चाँदी छ । सबै सम्पत्ति पैतृक भएको उनले उल्लेख गरेका छन् ।

उनका नाममा ४ वटा बैंकमा खाता छ । खातामा कति रकम छ भन्ने चाहिँ उल्लेख गरेका छैनन् । कृषि विकास बैंकमा ३३ कित्ता र कामना बचत तथा ऋण सहकारीमा ३ हजार कित्ता सेयर छ । उनले एनएमबी बैंकबाट ३२ लाख र मुक्तिनाथ विकास बैंकबाट २ लाख ७० हजार ऋण लिएर चलाएका छन् । उनीसँग एउटा मोटरसाइकल छ ।

ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीसँग सगोलको सम्पत्ति बढी छ । स्याङजाको वालिङ नगरपालिका ८ मा पैतृक सम्पत्तिबाट बनेको मणि तिवारीको नामको घर छ । उक्त घर मणिसहित ५ भाइको नाममा छ । यस्तै, सिद्धार्थ राजमार्गको मापदण्डमा पर्ने अर्को एउटा घर छ । सगोलमा करिब ७ रोपनी जग्गा छ । सोही ठाउँमा क्षेत्रफल नखुलाइएको जग्गा पनि छ । आफैले खरिद गरेको ८ आना अर्को जग्गा छ । नवलपरासीमा २ कठ्ठा १५ धुर जग्गा उनका पतिको नाममा छ । सबै जग्गा जग्गा बिक्री र तलबभत्ता बाट खरिद गरेको देखाएकी छिन् ।

तिवारीको नाममा २३ लाख नगद छ भने २२ तोला सुन, ४० तोला चाँदी पनि छ । उक्त सम्पत्ति पैतृकसँगै घरभाडा र तलबभत्ताबाट किनेको बताएकी छिन् । विभिन्न बैंकहरूमा पति र छोराका नाममा साढे ३ लाख नगद छ । उनको नाममा उपकार बचत तथा ऋण सहकारीमा ५० हजारको सेयर छ भने कालिका सामुदायिक अस्पतालमा १० हजार, आँधिखोला एफएममा ११ हजार १ सय, वालिङ बचत तथा ऋण सहकारीमा ५० हजार तथा मणिप्रसाद तिवारीका नाममा अपर तामाकोशी हाइड्रोमा १२ हजार २ सयको सेयर छ । मणिले नेपालगञ्जका पार्थ भुसालसँग ३० लाख ऋण लिएका छन् भने दर्शन सहकारीबाट ३० लाख तथा लक्ष्मी बैंकबाट ३५ लाख ऋण लिएका छन् । मणिसँग होण्डा मोटरसाइकल र सरस्वतीसँग २ वटा स्कुटर छ ।

कृषि मन्त्री महेन्द्रध्वज जिसीको नवलपुरमा १ रोपनी ७ आनाभित्र साढे २ तले घर छ । उक्त सम्पत्ति पैतृक हो । उनकै नाममा बर्दघाटमा करिब ७ रोपनी जग्गा छ । शिशवारमा १२ धुर र मंगलपुरमा करिब ३ आना जग्गा छ । उनीसँग ४० तोला सुन र २० तोला चाँदी छ । सबै सम्पत्ति पैतृक रूपमा प्राप्त गरेको जनाएका छन् । उनको नाममा कृषि विकास बैंकमा सेयर छ । सेयरको संख्या र रकम भने खुलाएका छैनन् । उनले सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएको देखाए पनि रकम भने उल्लेख गरेका छैनन् । उनीसँग एउटा ट्रयाक्टर पनि छ । ट्रयाक्टर स्वआर्जन गरेको जनाएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले बागलुङ नगरपालिका ३ मा २०६८ सालदेखि व्यवसाय चलाएका छन् । २०७७ सालपछि उनले जीप, ट्रयाक्टर र फार्मेसी पनि सञ्चालन गरेका छन् । थापाको नाममा बागलुङ ११ मा २२ रोपनी भन्दा बढी जग्गा छ । पोखराको शिशुवामा १२ आना जग्गा पनि उनले खरिद गरेका छन् । थापासँग १७ तोला सुन र २ किलो चाँदी छ । यी सम्पत्ति पैतृक र नोकरी तथा व्यवसायबाट खरिद गरेको जनाएका छन् । उनको ग्लोबल आइएमई बैंकमा २ लाख २५ हजार नगद छ ।

सिद्धार्थ डेभलपर्स कम्पनीमा ६ लाखको सेयर छ भने मल्टी ट्रेडर्समा ५ लाख १ हजार, शिक्षा सदनमा २ लाख ५० हजार तथा सिवाइसी नेपालमा १ लाखको सेयर छ । उक्त सेयर व्यापार, नोकरीबाट प्राप्त पैसाले खरिद गरेको बताएका छन् । उनले सिवाइसी नेपालबाट २२ लाख र निलगिरी सहकारीबाट १५ लाख ऋण लिएका छन् । थापासँग बोलेरो पिकअप जीप छ भने एउटा ट्रयाक्टर पनि छ । उनीसँग २ वटा भैँसी छ ।


Author

थप समाचार
x