गण्डकी

भूकम्पले क्षति पुर्‍याएकाे कालिका मन्दिर ८ वर्षपछि जिर्णोद्धार

इकागज |
असोज ३०, २०८० मंगलबार १०:४१ बजे

गोरखा । विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिङ्गटीका छाना खसेर पानी चुहिन थालेका थियो । मन्दिरको भ्यालढोकामा समेत मर्मत गर्नुपर्ने अवस्था भएपछि मन्दिर जिर्णोद्धार गरिएको हो ।    
    
राष्ट्रिय पुरातत्व विभागले मन्दिर जिर्णोद्धारका लागि विसं २०७८ साउन १५ गते धर्म एस आरआर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७९ असार १५ जिर्णोद्धार सक्नुपर्ने भए पनि नसकेपछि पुनः म्याद थप गरी ढिलो गरेर काम सम्पन्न गरेको हो ।    
    
मन्दिर जिर्णोद्धारका क्रममा भित्र स्थायी टेका लगाउनुका साथै भुइँमा तेलिया बिछ्याइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए । “भूकम्पले क्षति पुगेको मन्दिरको छानामुनिको कोठा पूरै भत्काएर पुनःनिर्माण गरिएको छ”, उनले भने, “त्यसबाहेक मन्दिरका झ्यालढोकाहरु मर्मत गरिएको छ ।”    
    
त्यस भूकम्पले क्षति पुर्याएको रङ्गमहल पनि मर्मत गरिएको प्रमुख भुसालले जानकारी दिए । रु एक करोड ९५ लाख लागतमा कालिका मन्दिर र रङ्गमहलको प्रवलीकरण गरिएको हो । पुराना संरचना कमजोर देखिएको भागको मात्र मर्मत गरिएको प्रमुख भुसालको भनाइ छ ।    
    
“मन्दिर पूरै भत्काउन परेन, जुन भाग कमजोर देखिएको थियो त्यो भाग भत्काएर अरु भागलाई प्रवलीकरण गरिएको हो”, उनले भने । मन्दिर जिर्णोद्धारका काम सम्पन्न भएपछि सर्वसाधारणका लागिसमेत मन्दिरमा पूजाआजाका लागि खुला गरिएको छ ।



Author

थप समाचार
x