गण्डकी

राष्ट्रसंघका महासचिव गुटेरेस पोखरा आउँदै

इकागज |
कात्तिक १३, २०८० सोमबार ९:४९ बजे

तस्बिर : प्रधानमन्त्री प्रचण्डको सचिवालय

पोखरा- नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आउँदै छन् । महासचिव गुटेरेस नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार दिउँसो पोखरा आउन लागेका हुन् । 

गुटेरेस काठमाडौंबाट दिउँसो १:५० मा पोखराको पुरानो विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तालिका रहेको छ । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ । महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा  पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । 


गुटेरेसलाई स्वागत गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुग्नेछ । त्यसपछि महाचिव गुटरेस सिधै होटेलतर्फ प्रस्थान गर्नेछन् । महासचिव गुटेरेस फेवाताल किनारको एक लजमा सोमबार राति बस्ने तय छ ।

त्यसपछि उनी मंगलबार मात्रै अन्नपूर्ण आधार शिविर(एबिसी) का लागी निस्कने छन् । उनी मंगलबार बिहान ६:३० मा आधार शिविरका लागि प्रस्थान गर्नेछन् । अन्नपूर्ण आधार शिविरमा शुक्रबार नै नेपाली सेनाको टोली पुगिसकेको छ । 

महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । आधार शिविरमा यसअघि १ वटा मात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन त्यहाँ थप हेलिप्याड निर्माण गरिएको छ । 

नेपाली सेनाको टोली, छोम्रोङ  पर्यटन व्यवस्थापन समितिको टोली, जिल्ला प्रहरी कार्यालय कास्कीको टिमसँगै गाउँपालिकाको टिम व्यवस्थापनका साथै स्वागतको तयारी जुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । गाउँपालिकाको तर्फबाट स्थानीय गुरुङ संस्कृति अनुसार स्वागतको तयारी पनि गरिएको छ  । 

आधार शिविरबाट महासचिव गुटरेस ७:३० मा पोखरा विमानस्थल फर्किनेछन् । मंगलबार बिहान ८:१५ बजे पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।


Author

थप समाचार
x